झापा । आगामी मंसीर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका झापाका १५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधि सभाका ७ र प्रदेश सभाका ८ जना उम्मेदवार रहेका छन् । उम्मेदवारी फिर्ता लिनेहरुमा झापा क्षेत्र नं. १ बाट राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने सन्तराज कार्की, १ को प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने गीताप्रसाद अधिकारी, राजन चिमरिया, क्षेत्र नं. २ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने कमलप्रसाद खरेल, स्वतन्त्र उम्मेदवारी दिने अर्पण बस्नेत, क्षेत्र नं. ४ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने विजयप्रसाद राजवंशी, स्वतन्त्र उम्मेदवारी दिने खेम नेपाल, ४ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने भरत श्रेष्ठ रहेका छन् ।
त्यस्तै क्षेत्र नं. ५ मा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं. ५ मा प्रतिनिधि सभा निर्वाचनतर्फ २ जना तथा ५ को ‘क’ मा एक जना र ‘ख’ मा ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधि सभा निर्वाचनका लागि १०१ र प्रदेश सभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले आगामी मंसीर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय दिएको थियो ।
आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेगरी समय तोकिएको थियो ।
आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दैछ। उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेद्वारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा प्रकाशन गर्नेछ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन्।
आ-आफ्नो दलको गठबन्धन विपरित उम्मेद्वारी दिएका झापा-२ का काङ्ग्रेसका कुमार भट्टराई र ३ का एमाले नेता डम्बर गिरीले भने आफ्नो उम्मेद्वारी कायम गर्दै फिर्ता लिएनन् । त्यस्तै क्षेत्र नं. ४ बाट राप्रपाकी खुश्बु ओलीले पनि फिर्ता लिइनन् ।