बिर्तामोड । नेपालमा राजवंशी विश्वविद्यालय स्थापनाको तयारी गरिएको छ । राजवंशी समाज विकास समिति केन्द्रिय कार्यालयको आयोजनामा बिर्तामोडमा राजवंशी विश्वविद्यालय स्थापनार्थ प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपालमा राजवंशी विश्वविद्यालयको आवश्यकताको बारेमा गहन छलफल साथै महत्वपूर्ण विषयवस्तु उपर उपस्थित शिक्षा क्षेत्रमा आवद्ध विद्वान, प्राध्यापक, राजवंशी समाजका अगुवा, बुद्धिजीवीहरुले आफ्ना सुझाव तथा धारणा राखेको राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीले बताए ।
नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रिय सचिव तथा राजवंशी समाज विकास समितिका केन्द्रिय उपाध्यक्ष मोहन राजवंशीको अध्यक्षता तथा भारतीय वायु सेनाका अवकाश प्राप्त वीङ्ग कमाण्डर डा. रञ्जितकुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राजवंशी समाज विकास समितिका मोरङ जिल्ला अध्यक्ष रमेश राजवंशी, भाषा–इतिहासका जानकार तुलाराम सिंह राजवंशी, आदिवासी जनजाति महासङ्घ अस्ट्रेलियाका निवर्तमान महासचिव तथा कचनकवल गाउँपालिका आदिवासी जनजाति महासङ्घका अध्यक्ष कर्ण राजवंशी, अरुणोदय बोर्डिङ स्कूलका प्रधानाध्यापक अरुण राजवंशी, प्राज्ञ सभा सदस्य तथा वरिष्ठ चित्रकार पवन राजवंशी, शिक्षादिप कलेजका अध्यापक ओमप्रकाश राजवंशी, जनता कलेज रंगेलीका प्राध्यापक हंशराज राजवंशी, कोचिला शिक्षक फ्रन्टका केन्द्रिय अध्यक्ष शिक्षक कुवेरप्रसाद राजवंशी, पत्रकार अर्जुन राजवंशी, राष्ट्रिय महिला सशक्तिकरण संस्था गौरीगञ्ज अध्यक्ष नौताली राजवंशी, लेखक तथा प्रधानाध्यापक डा. प्रेमानन्द राय, अग्रसेन महाविद्यालय दिनाजपुरका बङ्गाली विभागका असिस्टेण्ट प्रोफेसर रामकिशोर वर्मन, कोच सङ्ग्रहालयका अध्यक्ष प्रेमप्रसाद राजवंशी, राजवंशी समाज विकास समितिका केन्द्रिय उपाध्यक्ष बद्रीनारायण राजवंशी, अनुरोध फाउन्डेसन अध्यक्ष तथा कोरियोग्राफर सपना राजवंशी लगायतले राजवंशी विश्वविद्यालय को स्थापनाको लागी गर्नुपर्ने तयारी, सम्भावना र चुनौतीहरुवारे आफ्ना धारणा राखेका थिए ।
राजवंशी समाज विकास केन्द्रिय समितिले आगामी केन्द्रिय समितिको पूर्ण बैठकमा “राजवंशी विश्वविद्यालय स्थापनार्थ“ महत्वपूर्ण निर्णयहरु गर्ने तयारी गरेको राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीले बताए ।