भद्रपुर, १७ असोज । नेपाली काँग्रेसले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक तर्फको अन्तिम बन्द सूचीमा झापाबाट १० जनाको नाम समावेश भएको छ ।
यहि मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि वन्द सूचिमा काँग्रेसले झापाबाट प्रतिनिधि सभामा ४ जना र प्रदेश सभामा ६ जनालाई समानुपातिक तर्फकोे उम्मेद्वार बनाएको छ ।
काँग्रेसस्रोतका अनुसार प्रतिनिधि सभा तर्फ झापाबाट सरिता प्रसाई (बुद्धशान्ति ) , टेकबहादुर लिम्बू (मेचीनगर ), हरेकृष्ण घोष (भद्रपुर ) र अइन्द्र राज केरुङ (दमक ) लाई समानुपातिकको उम्मेद्वार बनाएको छ ।
प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार प्रसाई यस अघि कृषि राज्य मन्त्री भइसकेकी नेता हुन् । मेचीनगरका लिम्बू मेचीनगरका पूर्व जनप्रतिनिधि हुन् ।
विद्यार्थी राजनीतिबाट उदाएका नेता केरुङ दमक बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति तथा महाधिबेशन प्रतिनिधि हुन्। त्यस्तै, घोष भद्रपुर क्षेत्रका स्थापित नेता हुन् र्।
त्यसैगरी प्रदेश सभा तर्फ उद्धब थापा (अर्जुनधारा ) , बालाजित राई (मेचीनगर ), मोहन महर्जन (भद्रपुर ),कालू मेचे (मेचीनगर), पम्फा विश्वकर्मा (अर्जुनधारा ) र लखी गणेश (झापा गापा ) लाई काँग्रेसले समानुपातिक उम्मेद्वार बनाएको छ ।
थापा भने काँग्रेस प्रदेश सभापति हुन् भने राई मेचीनगरका प्रभावशाली युवा नेता तथा महाधिवेशन प्रतिनिधि हुन् । महर्जन काँग्रेसका भद्रपुरका पूर्व सभापति तथा मेची बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति हुन् भने गणेश झापाकी प्रभावशाली महिला नेतृका रुपमा स्थापित नेता हुन् ।
समानुपातिक उम्मेद्वार कालु मेचे स्थापित नेता, राष्ट्रिय कराँते खेलाडी तथा मेचे समुदायका अगुवा हुन् । दलित समुदायको प्रतिनिधित्व झापाबाट पम्फा विश्वकर्माले गर्ने भएकी छन् ।