सुरुङ्गा । बडादसैंको अवसरमा कनकाई मावि सुरुङ्गाको खेल मैदानमा बृहत कनकाई सन्थाल मेला हुने भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठान (कासा) ले यही फूलपातीका दिन आइतबार प्रतियोगितात्मक सन्थाल नृत्यसहित सन्थाल मेलाको आयोजना गर्ने भएको हो ।
कनकाई सन्थाल मेलाको सम्पूर्ण तयारी पूरा गरिसकिएको आयोजकले सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
प्रतिष्ठानले हरेक वर्षको बडादसैंको फूलपातीका दिन कनकाई सन्थाल मेला आयोजना गर्ने गरी आफ्नो वार्षिक कार्ययोजनामा समावेश गर्ने पत्रकार भेटघाटमा प्रतिबद्धता व्यक्त गरियो । प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले झापा तथा मोरङका १८ वटा टिमको सन्थाल नृत्य प्रतियोगितामा सहभागिता रहने जानकारी दिए ।
लोप हुन लागेको सन्थाल नृत्यको जगेर्ना र प्रवर्द्वन गर्ने मूल उद्देश्यसहित सन्थाल मेलाको आयोजना गरिएको कासाका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेतीले जानकारी दिए । मेला सम्पन्न गर्न सवा तीन लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसका लागि कनकाई नगरपालिकाबाट नगद १ लाख रुपैँया सहयोग प्राप्त भएको छ भने कनकाई नगरपालिकाका ९ वटै वार्डबाट २०/२० हजार रुपैयाँ आर्थिक सहयोग समेत प्राप्त भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद ३१ हजार, दोस्रो पुरस्कार २५ हजार, तेस्रो पुरस्कार २१ हजार, चौथो पुरस्कार १८ हजार, पाचौं पुरस्कार नगद १५ हजार रुपैँया पाउने छन् भने सान्त्वना पुरस्कार नगद १० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि चौथो पुरस्कार समाजसेवी एकराज उप्रेतीबाट प्राप्त भएको प्रतिष्ठानका कोाषाध्यक्ष चित्रा श्रेष्ठले जानकारी दिइन् ।
त्यसै गरी, विभिन्न सामाजिक संघसंस्था, खेलप्रेमी महानुभाव, लोपोन्मुख संस्कृति संरक्षण गर्ने अभियन्ताहरूबाट मेला सम्पन्न गर्न आर्थिक, भौतिक, नैतिक सबै प्रकारका सहयोग प्राप्त हुने प्रतिष्ठानका सचिव मान्ता खरेलले विश्वास व्यक्त गरिन् ।
‘खेलकुदमार्फत राष्ट्र विकासको अभियान’ भन्ने मूल नाराका साथ २०७१ सालमा स्थापित प्रतिष्ठानले कला, संस्कृति संरक्षण र सम्बद्र्धनका क्षेत्रमा पनि काम गर्दै आइरहेको छ । पत्रकार सम्मेलनमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानका पूर्वअध्यक्ष दिननाथ खतिवडा (दिनेश), उपाध्यक्ष अम्बिकादेवी खरेल, सदस्यहरू हरि कार्की र गोपाल खरेल, सल्लाहकारहरू राजेन्द्र उप्रेती (राजेश) र रामप्रसाद निरौला लगायतले प्रतियोगिताको बारेमा बोलेका थिए ।