झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने बताएका छन् ।
बुधबार काठमाडौंमा रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि आयोजित कार्यक्रममा उनले मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने दाबी गरेका हुन् ।
हामी ठीक ढङ्गले अगाडि गयौं भने म फेरि पनि भन्छु – ‘रापप्रा आउने संसदमै पहिलो पार्टी बन्न सक्छ । हारिन्छ कि भन्ने हीन मानसिकता त्यागेर अगाडि जानु पर्यो । म यहीँबाट पार्टीका सबै अगुवा नेता साथीहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेद्वार घोषणा गरेर अगाडि बढ्न आग्रह गर्दछु । पछाडि हट्ने होइन, भाग्ने होइन ।’
पार्टीका अगुवा नेताहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेद्वारी घोषणा गरेर अघि बढ्न पनि उनले निर्देशन दिए । प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेद्वारी दिने उल्लेख गर्दै उच्च मनोबलका साथ निर्वाचनको तयारीमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।
‘म यहीँबाट देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीविहरू, जो राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरू आउनुस्, राप्रपामा जोडिनुस् । हामी योग्यता, क्षमता भएका साथीहरुलाई उम्मेद्वार बनाउन तयार छौं‚’ उनले भने, ‘हामी १६५ वटै प्रतिनिधिसभामा र ३३० वटै प्रदेशसभाको निर्वाचन क्षेत्रमा उम्मेद्वार तय गरेर जान्छौं । त्यसकारण सबैलाई उच्च मनोबलका साथ अगाडि बढन आग्रह गर्दछु ।’
पार्टीमा प्रवेश गरेका रविन्द्र मिश्र लगायतका नेतालाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता समेत व्यक्त गरे ।