बिर्तामोड । बच्चाको लागि विशेष उपचार पाउन बाहिर धाउनुपर्ने समस्या अब झापाबासीहरुले व्यहोर्नु नपर्ने भएको छ ।
समाजसेवी लीला मैनालीको परिवारले सञ्जीवनी हस्पिटलदेखि दक्षिणपट्टि बिर्तामोड चिल्ड्रेन हस्पिटल सञ्चालनमा ल्याएका हुन् । जसको घटस्थापनाको अवसर पारेर सोमबार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । लीला मैनाली, उनका छोरी डा. सुजाता मैनाली आचार्य र ज्वाइँ डा. रुपक आचार्यले १५ बेडको बच्चाको हस्पिटल सञ्चालन गरेका हुन् ।
बिर्तामोडमा बच्चाको हस्पिटल नभएको र उपचारका लागि भारतको सिलिगुडीलगायतका ठाउँ धाउनुपर्ने समस्या देखेर आफूहरुले हस्पिटल सञ्चालनमा ल्याएको प्रवन्ध निर्देशक डा. रुपक आचार्यले बताए ।
उनले हस्पिटलमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, ओपिडी सेवा, आधुनिक ल्याब, आधुनिक एक्स-रेलगायतका सुविधा रहेको जानकारी दिए । बच्चाको मुटुको इको गर्न काठमाण्डौं जान नपर्ने गरी इकोको सुविधा रहेको बताउँदै उनले केही दिनमा बच्चाको दिमागसम्बन्धी जाँच गर्ने व्यवस्था पनि गरिने जानकारी दिए ।
हाल हस्पिटलमा ६ जना दक्ष चिकित्सक र नर्सिङ टीम रहेको जनाइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगरलगायतका हस्पिटलमा १२ वर्षको अनुभव बटुलेका हस्पिटलका प्रबन्ध निर्देशक डा. आचार्य नवजात शिशु तथा बालरोग विशेषज्ञ र कुपोषण रोग विशेषज्ञ हुन् । उनी विगत चार वर्षदेखि बिएण्डसी हस्पिटलमा विभागीय प्रमुखको रुपमा कार्यरत थिए । त्यस्तै सीइओको जिम्मेवारीमा रहेकी डा. सुजाता मैनाली आचार्य गाइनो फिजिसियन हुन् । विगत सात वर्षदेखि चिकित्सा सेवामा कार्यरत उनी पनि बिएण्डसी हस्पिटलमै थिइन् ।
हस्पिटलका अध्यक्ष मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, नेपाल मेडिकल एशोसिएसन झापाका अध्यक्ष डा. सीपी यादव, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए । हस्पिटलकी सिइओ डा. सुजाता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन नैनकला भट्टराईले गरेकी थिइन् ।