सुरूङ्गा । नेपाली काङ्ग्रेसका सभापति देउकुमार थेवेले विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत झापाका १५ वटैै पालिकाका धेरै विद्यालयहरुलाइ बजेटको ब्यवस्थापन गर्न पहल गरेको जानकारी दिनुभएको छ ।
कनकाई नगरपालिकामा आयोजित महिला सङ्घ गठन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थेवेले कनकाई नगरपालिकाका पाँच वटा विद्यालयलाई बजेट विनियोजन गर्न पहलकदमी गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार भृकुटी मावि कनकाई ७ मा चारकोठे भवन निर्माणको लागि ४५ लाख, जनचेतना आधारभूत विद्यालय कनपा ३ को २ कोठे भवनको लागि २२ लाख ५० हजार, जानकी आधारभूत विद्यालय कनकाई– २ को ४ कोठे भवनका लागि ४५ लाख, सरस्वती मावि कनकाई - ४ का लागि ६ लाख ५० हजार, पशुुपति प्राबि कनकाई - १ को लागि ६ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा महिला सङ्घको कनकाई नगर कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । समितिको सभापतिमा रेणुका मैनाली, उपसभापति कविता श्रेष्ठ र सीता खड्का, सचिवमा सङ्गीता भूजेल सहसचिव सोनामणि हेमरम, रचना प्रसाईं र कोषाध्यक्षमा सरला तामाङ रहेको १८ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको हो ।
नवगठित समितिलाई बधाई दिदै नेपाली काङ्ग्रेस जिल्ला सभापति थेवेले हरेक कार्यको नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति भएमा मात्र हरेक कार्य सफल हुने विचार व्यक्त गर्दै मङगलादेवी सिंहलाई सधैं सम्झनुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाली काङ्ग्रेस कनकाई नगर समितिका सभापति दुर्गा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथीहरु कविता बस्नेत, सीता थेवे, लिला चिमरिया, याम भूजेल, रोहित खवास, मनोज बस्नेत, लक्ष्मण जोयल श्रेष्ठ, इश्वरी शिवाकोटी, भीम राजवंशी, कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा स्वागत रेणुका मैनालीले गर्नुभएको थियो ।