बिर्तामोड । ‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा इन्जिनियरिङ कलेजले स्थापना भएको १२ वर्षपछि सम्बन्धन पाएको छ ।
१२ वर्षअघि झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा इन्जिनियरिङ कलेजले १२ वर्षपछि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको संस्थाका अध्यक्ष तथा कलेजका सञ्चालक युवराज प्रसाईले बताए । उनले भने – ‘१२ वर्षपछि खोला पनि फर्किन्छ ’ भन्ने उखान आज पाथीभरा इन्जिनियरिङ कलेजले स्थापना भएको १२ वर्षपछि सम्वन्धन पाएर चरितार्थ भयो । यो झापावासीकै लागि गौरवको विषय हो । अब इन्जिनियरिङ अध्ययन गर्न यहाँका विद्यार्थी लाखौं रकम खर्च गरेर अन्यत्र जानु पर्दैन ।
झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा १२ वर्षअघि पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज (पीसीएएस) ले पाथीभरा इन्जिनियरिङ कलेज सञ्चालनका लागि आवश्यक सबै भौतिक पूर्वाधार तयार गरी सम्बन्धनका लागि पूर्वाञ्चल विश्वविद्यालयमा निवेदन दिए पनि सम्बन्धन प्राप्त गर्न १२ वर्ष पर्खनुपरेको उनले बताए ।
अर्जुनधारा–११ स्थित नयाँ बसपार्कदेखि उत्तरपट्टि सवा विगाह जग्गामा पाथीभरा इन्जिनियरिङ कलेज निर्माण गरिएको बताउँदै उनले समयमै कलेज सञ्चालन गर्न नसक्दा त्यसबला निर्माण गरिएका र ल्याइएका कतिपय उपकरण कामै नलाग्ने गरी बिग्रिएकाले आफूहरुले निकै क्षति व्यहोर्नुपरेको जानकारी दिए ।
त्यस्तै कलेजका सिइओ अनुज पराजुलीले पाथीभरा इन्जिनियरिङ कलेजमा आगामी मंसीरदेखि बीइ सिभिल इन्जिनियरिङ, बीइ कम्प्युटर इन्जिनियरिङ र बीइ इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । उनले पाथीभरा इन्जिनियरिङ कलेजमा सुविधासम्पन्न कक्षाकोठा, आवश्यक ल्याबसुविधा, दक्ष प्राध्यापकहरुबाट गुणस्तरीय अध्यापन गराइने बताउँदै विद्यार्थीलाई अरु इन्जिनियरिङ कलेजसरह नै शुल्क लिइने जानकारी दिए ।
बीइ सिभिल इन्जिनियरिङ, बीइ कम्प्युटर इन्जिनियरिङ र बीइ इलेक्ट्रोनिक्स इन्जिनियरिङको ४८–४८ जनाको कोटा रहेको बताउँदै विपन्न विद्यार्थीहरुलाई पूर्वाञ्चल विश्वविद्यालयले उपलव्ध गराउने छात्रवृत्ति समेत प्रदान गरिने उनले बताए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी देवेन्द्र प्रसाईंले गरेका थिए ।