झापा । कानुनको बर्खिलाप गर्दै समयमा निर्वाचन खर्च नबुझाउने झापा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मिनाकुमारी पोखरेल (उप्रेती) ले ९ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।
निर्वाचन आयोगले सूचना जारी गरेर उनीहरूलाई सो जरिवाना हुने जनाएको हो । वैशाख ३० ग तेसम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ को चुनावी खर्च समयभित्र नबुझाउने नगर प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीलाई जनही ४ लाख ५० हजार जरिवाना बुझाउन निर्वाचन आयोगले भनेको हो ।
त्यस्तै नगरको उपप्रमुखको गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारी (सञ्जोग) ले पनि चुनावको खर्च विवरण पेस नगरेको आयोगले जनाएको छ । उनको नाम पनि ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने सूचीमा छ ।
त्यसैगरी प्रमुखका स्वतन्त्र उम्मेदवार बनेका डिल्लीराम घिमिरे, राप्रपाका तर्फबाट नगर उपप्रमुखमा उम्मेदवार बनेकी सविना बजगाईं, नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखमा उम्मेदवार बनेकी शारदा शर्माले समेत खर्च विवरण बुझाएका छैनन् । उनीहरूले पनि जनही ४ लाख ५० हजार जरिवाना बुझाउनु पर्ने आयोगको सूचनामा छ ।
सोही चुनावमा नेपाली काङ्ग्रेसबाट मेचीनगरको प्रमुखमा प्रतिस्पर्धा गरेका इन्द्रबहादुर बुढाथोकीले समयमै खर्च विवरण बुझाएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ। उनी जरिवाना तिरबाट जोगिएका छन् । चुनाव सम्पन्न भएको ३० दिनभित्र सबै उम्मेदवारले चुनावमा लागेको खर्चको विवरण आयोगमा अनिवार्य पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। खर्च विवरण पेस नगर्ने उम्मेदवार जरिवानाको भागिदार बन्छन् ।
आयोगले खर्च विवरण नबुझाउने उम्मेदवारको नाम जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, मालपोत कार्यालयको देखिने स्थानमा टाँस्न भनिसकेको छ।