विर्तामोड । दुवै मृगौला प्रत्यारोपण गरेर वीर अस्पतालमा थप उपचार गराई रहेका पत्रकार प्रेमबहादुर दियाली (पिबि दियाली) लाई थप सहयोग जुट्ने क्रम जारी छ ।
बिर्तामोडस्थित गोर्खा फाउन्डेशनको फेसबुक म्यासेन्जरमा जोडिएका दुई सय बढी शुभेक्षुकले पत्रकार दियालीलाई तिस हजार बढी रकम सहयोग समर्पण गरेको फाउण्डेशनका संस्थापक अध्यक्ष वीरु दर्नालले जानकारी दिए ।
कसैलाई भार नपरोस र कोही पनि नछुटुन् भन्ने उद्धेश्यले एक सय रुपैयाँ सहयोग समर्पण अभियानमार्फत् फाउण्डेशनको म्यासेन्जर ग्रुपमा आवद्द सदस्यहरूले स्वेच्छिक एक सयदेखि दुई हजारसम्म दियालीको खातामा सिधै जम्मा गरेर तिन दिनसम्म चलेको अभियानबाट उक्त रकम जम्मा भएको अध्यक्ष दर्नालले बताए ।
ग्रुपमा कसैलाई ब्यक्तिगत अनुरोध नगरी स्वतस्फुर्त: अभियान सफल भई यति छोटो समयमा लक्ष्य भन्दा माथी सहयोग जुटेकोमा फाउन्डेशनमा आवद्द सदस्यप्रति गर्व रहेको बताउँछन् दर्नाल ।
अभियानका सदस्य सामाजिक ब्यक्तित्व तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी यस अभियान बारे आफ्नो धारणा राख्दै सबैको सानो सानो सहयोगबाट जिवनदान प्राप्त हुन सक्छ र कसैलाई पनि ठुलो आर्थिक भार पर्दैन । सानो सामाजिक सहयोगबाट सहयोग गर्नेलाई आत्म संतुष्टि मिल्छ, यसैको उदाहरणको रुपमा रहेकोछ गोर्खा फाउन्डेशनको यो अनुकरणिय कार्य । आगामी दिनमा यि र यस्तै उदाहरणिय कार्य गर्न हामी सबै एक हौं ।
त्यस्तै एमालेका युवा नेता तथा युवा संघ नेपालका केन्द्रीय सचिव सदस्य पर्बत भण्डारीले यस्तै अनुकरणिय कार्यमा आगामी दिनमासमेत निरन्तरता रहोस्, हामी सबै मिलेर यसरी नै आगामी दिनमा धेरै सामाजिक जिम्मेवारी उठाउनु पर्नेछ । एकतामा बल हुन्छ, थोपा थोपा मिलेर नै सागर बन्ने हो ।
सुनसरी, ईटहरीका कृयाशिल पत्रकार दियाली पत्रकार महासंघ कोशी प्रदेश कार्य समिति सदस्य हुन् । गणराज्य दैनिक तथा मकालु टुडे अनलाईनका सम्पादक दियालीलाई गत महिना कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयले एक लाख राशीको नगद पुरस्कारसहित सम्मान गरेको थियो । दियालीको उपचारको लागी बिभिन्न ब्यक्ति र संस्थाबाट सहयोग आईरहेको बताईएको छ ।