हाम्रो नीति,हाम्रो शिक्षाले तिमी र तिमीहरूको कुरा बुझ्न नसकेको भएपनि हामी, तिम्रा साथी वा परिवारले पक्कै सुन्ने थियौं । बाचुन्जेल समस्याले छोड्दैनन् थाहा छ, तर समस्या सुन्ने कोहि न कोहि त छन् ।
समाधान दिने कोही त भेटिन्छन् खोज्ने प्रयत्न गरौं - यी शब्दहरु तिमी - हामीलाई पत्रकारिता पढाउनु हुने विष्णु लामिछाने सरले तिमी गएपछि सामाजिक संजालमा लेख्नु भएको हो, जुन तिमीले हेर्न सकिनौ हामीले देखाउन सक्दैनौं अब ।
पक्कै पनि विष्णु सरले भन्नु भए जस्तै राज्यले आज तिमीहरु जस्ता युवा मनलाई पढ्न सकेन, बुझ्न त अझै कयौं समय लाग्न सक्छ । न समयमा परिक्षा हुन्छ न त समयमै परीक्षाको नतिजा दिन सक्छ अनि त्यही चार वर्षे स्नातक पूरा गर्न थप दुई वर्ष पर्खेर पट्यार लाग्दो छ वर्ष पर्खिनु पर्छ ।
नेपाल सरकारको यही अब्यवहारिक शिक्षा नीतिका कारण पनि आज कयौं तिमी जस्ता सम्झनाहरुले बीचैमा पढाई छोड्न बाध्य बनेका छन् भने कतिलाई तिमी जस्तै अनन्तको यात्रा तय गर्न बाध्य पारिएको छ ।
नजानु थियो , तिमी गयौ फेरि पनि जाँदा जाँदै तिम्रा साथीहरुकोतर्फबाट केही अनुत्तरित प्रश्नहरुको बिस्कुन तिमीलाई । सम्झना !!! तिमी जस्तो एक स्मार्ट लेडीले तेत्रो ठूलो मनकामना कलेज परिवारलाई कसरी भुल्यौ ? कसरी बिर्स्यौ तिम्रा ती सूर्योदय, लक्ष्मीपुरमा छोरीलाई पर्खीरहेका बुबा आमाको न्यानो काखलाई ? तिम्रा ती दौंतरी जोसँगै अघिल्लो दिन कनकाई क्याम्पसमा परीक्षा दिएकी थियौ ? अनि के तिमीले कति चाँडै बिर्स्यौ कि परीक्षा सकेर हतार हतार लक्ष्मीपुर गाउँ गएर हराउँ अनि कसरी भुल्यौ बिर्तामोडकी घरबेटी आमा बुबालाई जसले तिमीलाई अभिभावकत्व दिएका थिए ? अनि तिमीलाई थाहा छ ? कलेजका कोअरडीनेटर कुमार थपलिया सर जसले तिमी हामीलाई कति अनुशासनमा राख्दै फेरि मीठो मायाले सिकाउनु हुन्थ्यो, सम्झाउनु हुन्थ्यो । अब यी सबै तिमीलाई सुनाउनु बाहेक केही रहेन बाँकी ! फेरि पनि अनुत्तरित नै छाडेर अनन्तमा गयौ तिमी जुन गलत बाटो थियो ।
सम्झना । तिमीले अघिल्लो दिन मात्र बिए तेस्रो वर्षको परीक्षा दिएकी थियौ । तर, एक्कासी अर्को दिन बिहान सबैलाई बिर्सिएर एक्लो बाटो तय गर्यौ । जुन खबरले तिम्रा साथीहरु, तिम्रो प्यारो मनकामना कलेज स्तब्ध बनायो । क्षणभरमै सामाजिक सञ्जाल तिम्रो श्रद्धाञ्जलीले भरियो ।
सम्झना । कलेजको निम्ति एक होनहार छात्रा थियौ । खेलकुदमा तिम्रो त्यो सकृयता कलेजको निम्ति सधै एक गर्व थियो । नम्र , हसिलो अनुहार, स्मार्ट ब्यक्तित्व कलेजका निम्ति सम्पति थियो, सम्झना । आजदेखि हामी सबैको आँखाबाट सधैंका लागी तिमी बिलायौ सम्झना । तिम्रो आत्माले शान्ति पाओस् ।