झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले सूचना नै नदिइ सदस्यहरुको खाताबाट रकम कटौती गरेको सदस्यहरुले गुनासो गरेका छन । संस्थाको कल्याणकारीणी कोषमा जम्मा गर्ने भन्दै प्रत्येक सदस्यबाट सात सयका दरले एनएमसीले रकम कट्टा गरेको सदस्यहरुले गुनासो गरेका हुन ।
आफ्नो खातामा रहेको रकम चेक गर्ने क्रममा खाताबाट रकम काटिएको थाहा पाएको मेचीनगर १४ का डिल्लीराज उप्रेतीले बताउनु भयो । उप्रेतीले भन्नुभयो, ‘खाताबाट रकम किन काटियो ? कुन प्रयोजनमा काटियो ? कुनै अत्तोपत्तो भएन ।’ त्यसपछि संस्थाको चारआली शाखामा सम्पर्क गरेर बुझ्दा त्यहाँका कर्मचारीले ‘माथीबाटै काटिएको’ भन्ने जवाफ दिएको उप्रेतीले बताउनु भयो ।
‘सिस्टम अनुसार माथिबाटै काटिएको हो, विस्तृत हामीलाई पनि जानकारी छैन । हामीले पनि एकैचोटी रकम काटेको मात्रै थाहा पाएका हौँ,’ उप्रेतीले चारआली शाखाबाट पाएको जवाफ यसरी सुनाउनुभयो । त्यस्तै मेचीनगर ५ का निर्मल सुवेदीले पनि सूचना नै नदिइ एनएमसीले रकम काटेको भन्दै गुनासो गर्नु हुन्छ । ‘आफ्नो खाताबाट रकम काट्दा हामीलाई थाहा हुनुपर्ने होइन ? किन थाहा दिइएन ?’ सुवेदीले प्रश्न गर्नुभयो ।
संस्थाको नयाँ निति अनुसार सदस्यको खाताबाट सात सयका दरले रकम काटेर कल्याणकारीणी कोषमा जम्मा गरेको एनएमसीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले बताउनु भयो । ‘सदस्यहरुको सहभागिता रहेको कोषबाट सदस्यहरुलाई राहत दिने व्यवस्था रहेको छ,’ उप्रेतीले भन्नुभयो, ‘बार्षिक रुपमा सात सय रकम जम्मा गर्दा सदस्यको मृत्यु भएमा ५० हजार र सदस्यको बुवा, आमा, छोरा छोरी तथा श्रीमान वा श्रीमतीको मृत्यु हुँदा १० हजार रुपैया उपलब्ध गराउने व्यवस्था छ ।’ खाताबाट रकम काटिएको बिषयमा सदस्यहरुलाई मोबाइल एसएमएस तथा अन्य माध्यमबाट पनि जानकारी गराउने गरेको उप्रेतीले जानकारी दिनुभयो । ‘कुनै सदस्यले कल्याणकारीणी कोषमा आबद्ध हुन नचाहेमा कार्यालयमा गएर निवेदन दिनु पर्छ,’ उप्रेतीले भन्नुभयो, ‘हामी रकम फिर्ता गर्छौ तर त्यस्ता सदस्यलाई संस्थाले राहत दिन सक्दैन ।’
यस भन्दा अघि सदस्यको शेयर रकमका आधारमा राहत सुविधा दिने व्यवस्था भए पनि संस्थाका सबै सदस्यहरुलाई समान व्यवहार गर्नु पर्ने भन्ने निति अवलम्बन गरेका कारण यो बर्षदेखि सबैबाट रकम जम्मा गरेर समाना राहत दिने व्यवस्था कार्यान्वयन गरेको प्रमुख कार्यकारी अधिकृत उप्रेतीले स्पष्ट पार्नु भयो ।
असार मसान्तसम्म एक लाख ५२ हजार तीन सय ४५ जना सदस्य रहेको एनएमसीको वासलात मात्रै १२ अर्ब ९५ करोड ५१ लाख ३८ हजार ९ सय ३१ को रहेको छ ।
यसैबीच माथिको राहत सुविधा लिन नचाहने सदस्यले साउन मसान्तभित्रमा संस्थामा जानकारी गराउन एनएमसीले सबै सदस्यलाई आजै म्यासेजमार्फत् जानकारी समेत गराएको छ ।
(सेताेपत्र)