धुलाबारी । मेचीनगर–१० धुलाबारी मोडमा ‘सानो साथी किन्डर गार्टेन’ नाम भएको मन्टेश्वरीमा पढ्ने एक बालिका मक्किएको र पातलो प्लाईउडको पाताले छोपिएको सेफ्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भएकी छन् ।
घटना साेमबार दिउँसो विद्यालयमा भएको हो । घाइते बालिका मेचीनगर–१० शान्तिटोल निवासी मेरिना लिम्बूकी ८ वर्षीय छोरी तान्छोक लिम्बू हुन् ।
दिउँसो १२ बजेतिर कक्षा कोठामा बालिका नभेटिएको र तत्कालै खोजी गर्दा विद्यालय भवन पछाडिको शौचालयको सेफ्टी ट्यांकीमा डुबिरहेको अवस्थामा फेला पारिएको विद्यालयको व्यवस्थापनले जानकारी दिएको प्रहरीको भनाई छ ।
बेहोस अवस्थामा बालिकालाई सेफ्टी ट्यांकीबाट उद्धार गरेर उपचारका लागि तत्कालै बीएन्डसी हस्पिटल लगिएको थियो । हाल भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।
घाइते बालकको स्वास्थ्य स्थिति अति चिन्ताजनक रहेको मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो । उहाँले हस्पिटलमै पुगेर बालकको स्वास्थ्य अवस्था र उपचार बारे जानकारी लिनुभएको छ ।
वडाध्यक्ष खनालले सेफ्टी ट्यांकीको माथिको प्वाल पातलो र मक्किएको प्लाईउडको पाताले छोपछाप पारेर राखिनु विद्यालयको गम्भीर लापरवाही भएको बताउनुभयो ।
सो विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १ सम्म पढाई हुने गरेको र हाल ६४ जना विद्यार्थी रहेको बताइएको छ ।
घटनापछि धुलाबारीमा तनाव उत्पन्न भएको छ । ठूलो संख्यामा स्थानीयबासी विद्यालय बाहिर राजमार्ग वरपर भेला भएका छन् । प्रहरीले विद्यालयको सुरक्षा पहरा दिइरहेको छ ।
विद्यालयको स्थापना २०७० सालतिर मनोज गुरुङले गरेको बताइएको छ । घटनापछि विद्यालय खाली गराइएको छ ।