बिर्तामोड । एसईई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएर बिर्तामोड– २ रामचौकको मोहनमाया माध्यमिक विद्यालय झापा जिल्लाकै उत्कृष्ट भएको छ । संस्थागत विद्यालयहरुलाई समेत उछिन्दै सामुदायिक विद्यालय मोहनमाया माविले यस वर्षको एसईई परीक्षामा पनि उत्कृष्ट स्थान हासिल गरेको हो ।
मोहनमाया माविका तर्फबाट ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै २६ जनाले उत्तीर्ण गरेका छन् । त्यस्तै ३.२० देखि ३.६० जीपीएमा २४ जना , २.८० देखि ३.२० जीपीएमा ३६ जना ,२.४० देखि २.८० जीपीएमा १४ जना , २.०० देखि २.४० जीपीएमा ११ जना र १.६० देखि २.०० जीपीएमा ४ जना विद्यार्थीले उत्तीर्ण गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । जम्मा ११५ जना विद्यार्थीले परीक्षा दिएका थिए । ती सबै उत्तीर्ण भएका छन् ।
झापामा संस्थागततर्फ २३९ र सामुदायिकतर्फ १२७ गरी जम्मा ३६६ वटा माध्यमिक विद्यालय छन् । झापामा ७१९ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । जिल्लाका सामुदायिक र संस्थागत विद्यालयको एसईई नतिजा हेर्दा मोहनमाया माविले सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।
बिर्तामोडमा मात्र नभएर जिल्लामै मोहनमायाको पठनपाठन उत्कृष्ट रहेको छ । नेपाली र अंग्रेजी माध्यममा पठनपाठन भइरहेको त्यस विद्यालयमा नयाँ विद्यार्थीहरुले भर्ना पाउनै गाह्रो छ । प्रवेश परीक्षा उत्तीर्ण गरेर मात्र विद्यार्थीहरुले पढ्न पाउँछन् । यस वर्षको शैक्षिकसत्रमा १ हजार २ सयभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा २०५ जनाले मात्र भर्ना पाएका छन् । विद्यार्थीहरुको मेहनत, शिक्षक र अभिभावकहरुको सहयोगका कारण मोहनमाया मावि अब्बल बन्न सफल भएको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । उनले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएकोमा सम्पूर्णलाई धन्यवाद दिएका छन् ।
२०२४ सालमा प्राथमिक विद्यालय केन्द्र नं ३ को रुपमा सो विद्यालय स्थापना भएको थियो । यस विद्यालयलाई २०३१ सालमा पञ्चकन्या ग्रुपका प्रेमबहादुर श्रेष्ठ, अमरबहादुर श्रेष्ठ, शेरबहादुर श्रेष्ठ र विष्णुबहादुर श्रेष्ठले ६५ हजार खर्च गरेर चार कोठे पक्की भवन बनाइदिएका थिए । तत्कालीन शिक्षा ऐन अनुसार दाता परिवारका तर्फबाट उनीहरूका आमा मोहनमायाको नाममा विद्यालयको नामकरण भएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए । २०५३ सालमा निम्न माध्यमिक, २०६८ सालमा माध्यमिक तहको अनुमति लिँदै २०६९ सालबाट एसएलसी परीक्षामा सामेल भएको थियो । यहाँ २०७५ सालदेखि प्राविधिक शिक्षाको पठनपाठन सुरु भएको छ । साविक मेची अञ्चलमै पहिलो पटक सिटिईभिटीबाट सम्बद्धन लिएर डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुँदै आएको छ । यहाँ २०७६ सालदेखि कक्षा ११ को पढाई भइरहेको छ । जसमा विज्ञान र व्यवस्थापन विषय रहेको छ । डिप्लोमा इन हाइड्रो पावर विषय पठनपाठन सुरु गर्ने मोहनमाया नेपालकै दोस्रो विद्यालय रहेको छ ।
विद्यालयमा बिहान र दिउँसो गरी ९२ जना शिक्षकहरूले अध्यापन गराउँदै आएका छन् । नेपाल सरकारबाट दरबन्दी प्राप्त गरेका ३३ जना शिक्षकहरू रहेका छन् भने ५९ जना शिक्षकको सेवा सुविधा आन्तरिक रूपमा व्यवस्थापन भइरहेको बताइएको छ । मोहनमाया माविमा हाल विद्यार्थी संख्या १ हजार ७ सय रहेको छ । जिल्लाकै उत्कृष्ट भएका कारण मोहनमाया माविमा विद्यार्थीको चाप उच्च रहेको छ ।