बिर्तामोड । बिर्तामोड ३ अनारमनीस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयका पूर्वशिक्षक तथा कर्मचारीलाई भूतपूर्व विद्यार्थी समाजले सम्मान गरेको छ ।
गुरू पूर्णिमाको अवसरमा विद्यालयका १२ जना पूर्वशिक्षक तथा कर्मचारीलाई भूतपूर्व विद्यार्थी समाजले सम्मान गरेको हो ।
विद्यालयका पूर्वशिक्षकहरु किशोर प्रसाई, टेकनाथ न्यौपाने, कपिलमणी प्रसाई, मोहनराज दाहाल, मोहनकुमार पौडेल, दिलिपकुमार शर्मा, दलबहादुर पुलामी, राधिकाकुमारी खड्का, मोहन ओली, लक्ष्मी ढकाललाई दोसल्ला, पानी तताउने इलेक्ट्रिक जग, तामाको जग, गिलाससहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो । त्यस्तै विद्यालयका पूर्वकर्मचारी जसबहादुर राई र ज्ञानुमाया राईलाई पनि भूतपूर्व विद्यार्थी समाजले सम्मान गरेको छ ।
समाजका उपाध्यक्ष मदन गोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व मोहन ओली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सेढाई, प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा पूर्वविद्यार्थी लीला अनमोलले गरेकी थिइन् ।
यसअघि गत वर्ष पनि भूतपूर्व विद्यार्थी समाजले गुरु पूर्णिमाका दिन ब्रजनन्द झा, मुकुन्द पौडेल,रामप्रसाद पौडेल, विष्णुकुमार भट्टराई, निरा प्रधान, लीला निरौला, तेजप्रसाद प्रसाई, श्रीप्रसाद तिम्सिना, देवेन्द्र गौतम र चन्द्रप्रसाद भट्टराई गरी ११ जनालाई सम्मान गरेको थियो ।
गत वर्ष स्थापना भएको भूतपूर्व विद्यार्थी समाजले निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।