इलाम । नेपाल कम्युनिस्ट पार्टी, इलामले आज लघुबित्त, बैंक र मिटरब्याजीको आतंक बिरुद्ध एक प्रदर्शन गरेको छ ।
इलाम जिल्लास्थित देउमाइ नगरपालिका मंगलबारे बजारमा जनताहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज मौसमले सम्बोधन गरेका थिए ।
सम्बोधनको क्रममा नेता मौसमले यो देशमा दलाल पूँजीवादले देश र जनतालाइ शोषण गरेको र अशान्ति फैलाएको हुनाले देशलाई शान्तिमा लैजाने हो भने यो ब्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नुपर्ने बताए ।
उनले नागरिकहरुको संकटबाट फाइदा उठाउने ठगहरुलाई संरक्षण गर्ने सत्ता र सरकार कसरी जनताको सरकार हुन सक्छ ? भन्दै प्रश्न गरेका थिए । यो सत्ता जनताको सत्ता होइन त्यसैले जनताले सास्ती खेप्नु परिरहेको बताए ।
उनले ठगहरुलाई नेपाल कम्युनिस्ट पार्टीले 'ठेगान' लगाउने समेत चेतावनी दिएका छन । कार्यक्रमको सभापतित्व र सञ्चालन जिल्ला जनपरिषद् प्रमुख गोपी सीले गरेका थिए । चोक बजारमा नाराजाबाजीसहित सञ्चालन भएको प्रदर्शनमा जनताहरुले शान्तिसंग बांच्न देउ, दलाल सत्ता मुर्दावाद, बित्तिय संस्था मुर्दावाद जस्ता नारा लगाएका थिए ।
प्रदर्शन कार्यक्रममा युवा संगठन नेपालका मेची इन्चार्ज मदम बिद्रोही, ब्युरो सदस्य अबिनाशले पनि बोलेका थिए । नेकपा इलामले जनतालाई जागरित गर्ने उद्देश्यले पर्चा समेत बितरण गरेको थियो ।