बिर्तामोड । झापाको बिर्तामोड –२ चारपानेमा रहेको मोरिक साधना कला केन्द्रका विद्यार्थीहरुले आफ्नो बाल प्रतिभा प्रष्फुटन गरेका छन् ।
मोरिक साधना कला केन्द्रको आयोजनामा झापा नाटक घरमा भएको अभिभावक भेला साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी उनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरी अभिभावक तथा अतिथिहरुको मन जितेका थिए ।
बालबालिकाहरुमा भएको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने र लोप हुँदै गएको हाम्रो पुर्वीय संस्कार संस्कृतिलाई जगेर्ना गरी पछिल्लो पुस्तामा समेत निरन्तरता प्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको मोरिक साधना कला केन्द्रकी सञ्चालक सुजना खतिवडाले बताइन् ।
सञ्चालक खतिवडाको अध्यक्षता तथा सामुदायिक विद्यार्थी स्वास्थ्य सरोकार केन्द्र झापाका संस्थापक तथा एचडी हेयर एण्ड डर्मा सेन्टर बिर्तामोडका प्रमुख मनुराम चिमरीयाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कला केन्द्रकी विद्यार्थी सम्बृद्धि खड्काले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष तुलसीप्रसाद भट्टराई, क्षितिज नाट्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सहसचिव ओमप्रकाश लुइँटेल, झापा नाटक घर निर्माण उपभोक्ता समितिका अध्यक्ष भोजकुमार मास्के, साहित्यकार दुर्गाप्रसाद सिग्देल, निर्माण व्यवसायी सीताराम ढुङ्गेल, बिर्ताज्योती साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले मोरिक साधना कला केन्द्रका विद्यार्थीहरुको भविष्य उज्जवल रहेको उनीहरुले देखाएको प्रतिभाले छर्लङ्ग पारेको बताएका थिए ।
कार्यक्रममा मोरिक साधना कला केन्द्रका प्रशिक्षकहरु समीक्षा खतिवडा, मणि वर्देवा र गीता थापाको कोरियोग्राफी र निर्देशनमा विद्यार्थीहरुले गायन, नृत्य, मोडलिङ्ग, वाद्यवादन तथा सचेतनामूलक नाटक विभेदको मञ्चन गरेका थिए ।
कार्यक्रममा उपस्थित अभिभावहरुले छोटो समयमा मोरिक साधना कला केन्द्रमा भर्ना भएर आफ्ना छोराछोरीहरुले गरेको उपलब्धीले आफूहरु प्रफुल्लित भएको बताएका थिए । क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष मुना प्रसाईं, व्यवस्थापक राजकुमार भट्टराई, क्षितिज नौमती बाजा व्यवस्थापन समूहकी अध्यक्ष माया सिटौला, डीनलिष्ट समिन खतिवडालगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधब कल्पितले गरेका थिए ।