विराटनगर । नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेशसभा बैठक अहिले जारी छ । प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो ।
नेकपा एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको पक्षमा मतदान गर्ने बताएका छन् । प्रदेशको नाम प्रदेशसभाको दुई तिहाइ बहुमतले राख्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा एमाले, कांग्रेस र माओवादी केन्द्रको सदस्य संख्या दुई तिहाइ छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले आज प्रदेशको नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सम्वेदनशिलतालाई ख्याल गर्दै निषेधाज्ञा जारी गरेको हो ।
दलहरु भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले प्रदेशसभा भवन अगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।
ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरु नगर्न आग्रह गरेको छ । प्रदेशको नामकरणको तयारी भएपछि प्रदेशका सबै जिल्ला प्रहरीले सतर्कता अपनाएको छ । अन्य क्षेत्रबाट प्रदेश राजधानी आउने सवारी जाँचमा पनि प्रहरीले कडाइ गरेको छ ।