धुलाबारी । ‘स्वास्थ्य र दीर्घ जीवन, निरोगी नेपाल अभियान’ नाराका साथ झापाको मेचीनगरबाट हेल्थ एण्ड हेल्थ नेपाल प्राकृतिक तापिय उपचार सेवा केन्द्रद्वारा निरोगी नेपाल अभियान शुभारम्भ गरिएको छ ।
असोज १ गते विश्वकर्मा पूजाको दिन शनिबारदेखि मेचीनगरबाट सो अभियान शुभारम्भ गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले आफै खुट्टाको नशा सम्बन्धी बिरामी हुँदा काठमाडौँमा सोही सेवा केन्द्रमा तीन महिना उपचारपछि ठीक भएको बताए । झापामा सो अभियान ल्याउन उनै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज समेत रहेका कोइरालाकै पहल रहेको थियो ।
नगरपालिकाको सहजीकरण धुलाबारीस्थित अतिथि सदनमा बिरामी महिलाले रिवन काटेर सो उपचार सेवा सुरु गरिएको छ । नेता कोइराला र मेयर बुढाथोकीले पनि आधा घण्टा प्राकृतिक तापिय उपचार सेवा लिएका थिए ।
सो उपचार विधिले शरीरका हाड जोर्नीलाई मजबुत पार्ने, थकान, छटपटी र तनावबाट मुक्त राख्ने, शरीरमा भएका बोसोलाई पगाल्ने, मेरुदण्ड, ब्लड प्रेसर, सुगर, मुटु, मृगौला, फोक्सो, कलेजो, नशा र शरीरको आन्तरिक अङ्गहरुमा सुधार ल्याउन मद्दत गर्ने बताइएको छ । यो प्रविधिबाट उपचार गर्दा एक महिनाको ४ हजार शुल्क लाग्ने बताइएको छ । यसको शाखा मेचीनगरमा नै रहने छ ।
वैकल्पिक चिकित्सा पद्दतिमा आधारित उच्चस्तरीय वैज्ञानिक प्रविधिबाट प्राकृतिक जेड स्टेन तापिय थेरापी र अल्कालाइन (क्षारीय) पानीको प्रयोग रोग प्रतिरोधात्मक स्वास्थ्यका लागि उपयोगी देखिएको हेल्थ एण्ड हेल्थ नेपालका अध्यक्ष महेश आचार्यले बताए । साइड इफेक्टरहित यस मेडिकल उपकरणको प्रयोगले बिरामीहरुको छोटो समयमा स्वास्थ्य राम्रो भएको उनको भनाई छ ।
हेल्थ एण्ड हेल्थ तापिय उपचार सेवा केन्द्र नेपालको मुख्य कार्यालय भक्तपुर र एक शाखा पोखरामा रहेको छ ।भक्तपुरमा रहेको मुख्य कार्यालय ०७३ सालमा स्थापना भएको हो । पूर्वको मेचीनगरबाट सुरु भएको सेवा केन्द्रलाई कम्तिमा एक सय स्थानीय तहमा पुर्याइने बताइएको छ ।
कार्यक्रममा युवा नेता सन्तोष न्यौपाने, रासस प्रमुख देवेन्द्र प्रसाई, समाजसेवी विवेककेशरी प्रसाई, पर्यटन ब्यवसायी शेखर ढकाल, अग्रज पत्रकार मोहन काजी, राससकी निवर्तमान झापा प्रमुख अम्बिका भण्डारी, पत्रकार मुक्ति पौडेल, मेची प्रेस क्लबका अध्यक्ष डम्बर बराल, वीरता मिडिया हाउसका अध्यक्ष वीरु दर्नाललगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कोइराला, सिंहदरबार वैद्यखानाका आयुर्वेद विज्ञ डा.बाबुकाजी अमात्य, मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, हेल्थ एण्ड हेल्थ नेपालका पोखरा शाखा प्रमुख भरत तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
हेल्थ एण्ड हेल्थ नेपालका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको स्वागत हेटौडाका प्रमुख चुडामणि पौडेलले र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।