झापा । नेपाल कम्युनिष्ट पार्टी एमाले झापा जिल्ला कमिटीको छैटौं पूर्ण बैठक पार्टीको नयाँ अभियान ‘मिसन ग्रासरुट’मा केन्द्रित छलफल र कार्यक्रमहरु तयारी गर्दै सम्पन्न भएको छ ।
पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा बैठक सम्पन्न भएको हो । पार्टी केन्द्रीय कमिटीले फागुन ७ गतेदेखि सञ्चालन गरेको पार्टी सुदृढिकरण अभियान ‘मिसन ग्रासरुट’सँग सम्बन्धित रहेर बैठक सञ्चालन गरिएको बैठक पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा निर्देशनात्मक मन्तब्य राख्दै केन्द्रीय कमिटीका सचिव रायमाझीले पार्टीका सबै तहका कमिटीहरुलाई पुनः ताजगी गराउन मिसन ग्रासरुट अभियान अघि सारिएको बताए । पाँच वर्षपछि तीनै तहको निर्वाचनमा कम्तीमा ५१ प्रतिशत जनमत सुनिश्चित गर्न अभियानले आधार तयार गर्ने उनको भनाई छ ।
बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले नेकपा एमालेको वैचारिक बाटो सुस्पष्ट भएकोले जनताको वहुदलीय जनवादको मार्गबाटै समाजवाद तर्फ यात्रा गर्न सकिने बताए ।
बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा झापाका इन्चार्ज अग्नि खरेल, प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले विषय केन्द्रित मन्तब्य राखेका थिए । अध्यक्ष कार्कीले हस्ताक्षर गरी जारी प्रेस विज्ञप्तिमा मिसन ग्रासरुटका बारेमा प्रष्ट्याइएको छ ।
के हो मिसन ग्रासरुट
नेकपा ९एमाले०को पार्टी सुदृढीकरण तथा विस्तारका लागि तय गरिएको नयाँ अभियान ‘मिसन ग्रासरुट’ हो । पार्टीको संगठन थप मजबुद बनाउन ‘मिसन ग्रासरुट’ अभियान थालिएको हो । यो अभियान पार्टीको ‘होल बडी चेकअप’ जस्तै भएकाले अभियानले पार्टीलाई अझ व्यवस्थित बनाएर लैजानेछ ।
नेकपा ९एमाले०का नीति, विचार, सिद्धान्त र कार्यक्रम अरू कुनै पार्टीसँग दाँज्न नमिल्ने बरु यिनै विषयहरू जनताका बीचमा लगेर समाज रूपान्तरणको अभियान चलाइरहेकोले मिसन ग्रासरुट यसैमा केन्द्रित हुने गरी बनाइएको कार्यक्रम हो ।
२०७९ फागुन ७ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेश कमिटीको बैठकमा भर्चुअल माध्यमबाट उद्घाटन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानले एमालेका नेता कार्यकर्ताहरुमा उत्साह थप्ने विश्वास गरिएको छ ।
पार्टीका सबै नेता कार्यकर्ता एउटै लयमा हिँड्नु पर्नेमा कहिलेकाहीँ अन्तविरोधहरू देखिने गरेकाले अनौपचारिक संवादका माध्यमबाट पनि समझदारी कायम गरेर अघि बढ्न मिसन ग्रासरुट औजार बन्नेमा पार्टीले विश्वास लिएको जनाइएको छ ।