प्रत्येक देशको विकासमा विज्ञान र प्रविधिको प्रयोग तथा विस्तार अत्यावश्यक तथा अनिवार्य सर्त मानिन्छ । विज्ञानका विविध विषयले उल्लेखनीय विकास गरिसकेको वर्तमान समयमा कुनै पनि देशको आर्थिक विकासका लागि होस् वा सामाजिक परिवर्तनका लागि विज्ञान तथा प्रविधिलाई सशक्त माध्यम मानिएको छ । सामाजिक रुपान्तरण र भौतिक विकासका लागि विज्ञानको प्रयोग नै किन आवश्यक पर्दछ भन्ने कुराको प्रशस्त उदाहरणहरु रहेका छन् ।
यस महत्वलाई विकसित राष्ट्रहरुले उच्च प्राथमिकताका साथ आत्मसात गरिरहेका छन् भने नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुले विज्ञानको क्षेत्रमा विकास गर्नका लागि आफ्ना प्रयास तथा कोशिसहरु केन्द्रित गरिरहेका छन् । यसै सन्दर्भमा विज्ञान तथा प्रविधिको महत्वलाई उजागर गरी यसको भूमिकालाई आत्मसात गर्दै नेपाल सरकारले वैज्ञानिक तथा प्राविधिक समुदायबाट प्राप्त सुझाव समेतका आधारमा राष्ट्रिय विज्ञान दिवस वि.स. २०७० साल असोज १ गतेदेखि अमृत साइन्स कलेज स्थापना भएको दिनको शुभ अवसरलाई नै आधार मानी मनाउन थालेको पाइन्छ ।
"विज्ञान र प्रविधिमा लगानीको विस्तार : समुन्नति र समृद्धिको आधार" भन्ने आदर्श वाक्यका साथ दशौं राष्ट्रिय विज्ञान दिवस मनाइरहेका छौं । विश्वका अन्य मुलुकहरुको तुलनामा नेपालको आधुनिक विज्ञान तथा प्रविधि विकासको इतिहास धेरै लामो रहेको छैन । वि.सं. २०५३ सालमा छुट्टै विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना गरी विज्ञान प्रविधिको क्षेत्रलाई प्राथमिकता राखी संस्थागत विकासको कोसिस गरेको देखिन्छ ।
छुट्टै मन्त्रालयको स्थापना भएपछि वि.स.२०६१ सालमा राष्ट्रिय विज्ञान तथा प्रविधि नीति, वि.स. २०६४ सालमा राष्ट्रिय परमाणु नीति, वि.स. २०७२ सालमा पारमाणविक पदार्थ नियमन सम्बन्धि निर्देशिका विकास गरि लागू भएको पाइन्छ । देशको शासन प्रणाली सङ्घीय संरचनामा रुपान्तरण भएपछि विज्ञान प्रविधिको जिम्मेवारी सङ्घमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रादेशिक तहमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको छ।
देशभित्रै विज्ञान प्रविधिका विभिन्न क्षेत्रमा उच्च शिक्षाको आवश्यक पूर्वाधार र अवसरहरु उपलब्ध भई जनशक्ति उत्पादनको क्षमता अभिवृद्धि हुँदै गएको छ। आजको विश्व विगतको अवस्थाबाट धेरै रुपान्तरण हुँदै अघि बढिरहेको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत जस्ता विषयहरु आज आधारभूत आवश्यकता बनेको सन्दर्भमा आजभन्दा पाँच, छ दशक अघिसम्म यी विषयहरुमा मानिसको पहुँच सन्तोषजनक थिएन । उच्च शिक्षाको अवसरको अवस्था हेर्ने हो भने पनि सीमित शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका थिए ।
परिवर्तित समयलाई पछ्याउँदै सरकारले पाठयक्रमलाई अध्यावधिक गर्दै आइरहेको छ । सानै कक्षादेखि बालबालिकाहरुलाई वैज्ञानिक सोच र चिन्तनको विकास गराउने राष्ट्रिय लक्ष्य र उद्वेश्य राखेको पाइन्छ। विद्यालय तहको पाठयक्रममा कक्षा एकदेखि विज्ञान तथा प्रविधिका कुराहरु परिचित गराउने साथै अभ्यासत गर्ने विषयवस्तुहरु सामवेश गरेको छ। आधारभूत तहदेखि नै बालबालिकामा विज्ञानका आधारभुत ज्ञान, विज्ञानका प्रक्रियागत सीप, वैज्ञानिक कारण, समस्या समाधान, वैज्ञानिक अनुसन्धान सीप तथा वैज्ञानिक अभिवृत्तिसहित वैज्ञानिक सुझबुझ भएका नागरिक उत्पादन गर्ने ढङ्गबाट पाठयक्रम विकसित गरिएको छ ।
हाम्रो देश सङ्घीयतामा गइसकेको यस समयमा हामीसँग स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार गरी तीन वटा सरकार छन। हरेक तहगत सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा विज्ञान प्रविधियुक्त कार्यक्रम ल्याउनुपर्दछ, जुन कागज मात्रै होइन कि व्यवहारिक तथा प्रयोगिक हुनु जरुरी छ । चाहे कृषिमा, चाहे शिक्षा, स्वास्थ, यातायात, सञ्चार आदि सबै क्षेत्रमा प्रविधिको व्यापक प्रयोग गरी उत्पादन लागत घटाउनु पर्दछ भने हामीमा भएको युवा जनशक्तिलाई प्रविधिमैत्री जनशक्ति निर्माण गरी हरेक क्षेत्रलाई आधुनिकरण गर्दै लैजानु पर्दछ।
विशेष गरी अहिले कृषि व्यवसायको आधुनिकीकरण तथा आवश्यक उपकरण खरिद गरी कृषकहरुलाई कृषिमा विज्ञान प्रविधिको आवश्यकता बारे प्रशिक्षण र सचेतनात्मक कार्यक्रमको सञ्चालन गर्न जरुरी छ । ट्राफिक व्यवस्थापन, सरकारी कार्य, सुरक्षा, विकास निर्माणका कार्य जस्ता अन्य सम्पूर्ण सम्भावित क्षेत्रलाई विज्ञान प्रविधिमैत्री बनाउनतर्फ सरकार अगाडी बढ्नु पर्छ तबमात्र देश साच्चिकै आर्थिक सम्पन्न तथा धनी बन्न सक्छ।
सबैले आफ्नो ठाउँबाट पहल गरौं जिम्मेवार स्थानीय तह, जिम्मेवार सरकार तथा जिम्मेवार नागरिकको पहिचान व्यक्त गरौं । स्थानीय तहमा रहेको सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्न सक्ने छ। परम्परागत रुपमा सञ्चालन आएका हाम्रा विभिन्न प्रविधिहरुको संरक्षण र संवद्वनमा विशेष ध्यान दिनु जरुरी छ। जसले गर्दा स्वरोजगारको वृद्वि गरी राष्ट्रिय पूँजीको निर्माण महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ।
बद्लिँदो परिवेशसँगै हाम्रा पुर्खाले आर्जेका ज्ञानहरु हराइसकेका छ्न । हिजो जुन रुपमा एउटा चक्र सरी ज्ञान, सीप र अभ्यासहरु सर्दै आइरहेका थिए। यो क्रम निरन्तर आधुनिकताका नाममा नाश हुँदैछ। हाम्रा पुर्खाले पहिलेदेखि प्रयोग गर्दै आएका तुलो, झुलो चकमक, घुम, डोको, डेली, भुने, धिरी, खँलाती, कोल डिकी, जाँतो, घरेलु हतियार आदि जस्ता विज्ञान र प्रविधिमा आधारित परम्परागत प्रविधि र सीपहरुको जर्गेना गर्नु जरुरी छ।
तसर्थ, स्थानीय सरकारले यस्ता प्रविधिहरुलाई प्रोत्साहनको नीति अख्तियर गरी संरक्षण गर्नुपर्दछ। त्यसैगरी स्थानीय सरकारले विद्यालय शिक्षामा लगानी अभिवृद्धि गरी पाठयक्रमले राखेका अधिकतम उपलब्धिहरुलाई हासिल गराउनलाई वैज्ञानिक सोच र चिन्तन विकास गराउन प्रयत्न गर्नु जरुरी छ।
(अध्यक्ष, नेपाल शिक्षक महासंघ, बिर्तामोड)