विराटनगर । सीमावर्ती बजारमा भारतीय रुपैयाँको भाउ घटेपछि उल्टै भारतीय बजारबाट नेपाली रुपैयाँ अवैध रुपमा भित्रिन थालेको छ । यसअघि भारु अवैध रुपमा भित्रिने गरेको थियो ।
भारतको जोगवनी बजारमा अहिले भारु एक सय नेरु १५५ रुपैयाँमा बिक्री हुँदै आएको छ । यसअघि एक सय भारु कम्तीमा १६५ रुपैयाँ नेरुमा बिक्री हुँदै आएको थियो ।
जोगवनी बजारबाट ९ लाख २० हजार नेपाली रुपैयाँ लिएर आउँदै गरेका विराटनगर १५ का रंजीतकुमार साहलाई मोरङ प्रहरीले पक्राउ गरेपछि सीमावर्ती बजारबाट नेपाली रुपैयाँको तस्करी सुरु भएको पुष्टि भएको छ ।
बीआर ३८ एन ४९३० नम्बरको मोटर साइकलमा आउँदै गरेका साहलाई प्रहरीले विराटनगर १० सोमवारेमा पक्राउ गरेको थियो । रकमको स्रोत नखुलेपछि साहलाई अनुसन्धानका लागि रकमसहित राजश्व अनुसन्धान इकाइ कार्यालय इटहरीमा बुझाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।
सीमावर्ती जोगवनी बजारमा नेपाली उपभोक्ताले दैनिक करोडौं मूल्य बराबरका उपभोग्य वस्तु खरिद गर्ने गर्छन् । त्यही रकम अवैध रुपबाट व्यापारीले नेपाल भित्र्याउने गरेको प्रहरीको बुझाइ छ । जोगवनी बजारका अधिकांश व्यापारी विराटनगरका हुन् । उनीहरुले त्यहाँ भारुमा सामान खरिद गरेर नेपाली रुपैयाँमा बिक्री गर्छन् । त्यही रुपैयाँ अवैध रुपमा नेपाल भित्रिने गरेको प्रहरीले जनाएको छ ।
भन्सार महसुल र मूल्य अभिवृद्धि करका कारण स्थानीय बजारको तुलनामा सीमावर्ती बजारमा लत्ता कपडा, घरायसी सामान लगायत उपभोग्य वस्तु सस्तो पर्ने भन्दै नेपाली उपभोक्ताको भीड दिनहुँ जोगवनी बजारमा लाग्ने गर्छ ।
मोरङ व्यापार संघका अनुसार जोगवनीमा नेपाली उपभोक्ताले दैनिक पाँच करोडभन्दा बढी मूल्यका लत्ता कपडा लगायत अन्य उपभोग्य वस्तु खरिद गर्दै आएका छन् ।