धुलाबारी । झापाको धुलाबारीमा भएको तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९ को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै धरान भेट्रानले उपाधि चुमेको हो । प्रतियोगिताको विजेता टिम धरान भेट्रानले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको धरमपुरले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो ।
धुलाबारी भेट्रान क्लबको आयोजनामा माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका चर्चित ८ वटा भेट्रान फुटबल क्लबहरु सहभागी थिए ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजयी टिम धरान भेट्रान क्लबका रमेश गुरुङ खेलको म्यान अफ दि म्याच र वेस्ट गोल किपर घोषित भए ।
व्यक्तिगत विधामा धरानले वर्चश्व कायम गर्दा धरान भेट्रानबाट बिष्णु सुनुवार बेस्ट डिफेन्स, बेस्ट मिडफिल्ड मित्र बस्नेत र प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत धरान भेट्रानबाट नै सन्तोष बस्नेत घोषित भए ।
उनीहरुसंगै विजेता तथा उपविजेता टिमका खेलाडीलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, मुस्ताङ वियर मेची इन्चार्ज मात्रिका प्रसाई, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, मेची उद्योग वाणिज्य संघ सदस्य सन्तोष खवास, एन्फा फुटबल प्रशिक्षक सचिन्द्र धिमाल, धुलाबारी भेट्रान क्लबका अध्यक्ष गोकुल हुमागाई, सचिव सरोज गुरुङ्ग लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका हुन् ।
धुलाबारी भेट्रान क्लबका अध्यक्ष गोकुल हुमागाईको अध्यक्षतामा आयोजना भएको समापन सत्रको औपचारिक कार्यक्रममा मुस्ताङ वियर मेची इन्चार्ज मात्रिका प्रसाई, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराल, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्गलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम पत्रकार प्रकाश पौडेलले सञ्चालन गरेका थिए ।