काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले आइतबार कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो ।
जसपाले गठन गरेको एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि पत्रचार गर्दै ओपचारिक आह्वान गरेका हुन् । नीति, सिद्धान्त र विचार मिल्ने दलहरुसँग पार्टी एकताका लागि ठोस कदम अगाडि बढाउने भन्दै जसपा राजनीतिक समितिको गत पुष १८ र १९ गतेको बैठकले निर्णय गरेको थियो ।
पार्टी एकताको सान्दर्भिकता बारे प्रकाश पार्दै पत्रमा भनिएको छ– यस्तो एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेण्डाहरु स्थापित गर्न, देशलाई अग्रगमनतर्फ डोहोर्याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी÷दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका अधिकारहरु सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने छ ।
देशका परिवर्तनकारी राजनीतिक शक्तिहरुसामु आफ्ना माग र मुद्दाहरुलाई जनतासामु स्थापित गर्न चुनौतिहरु थपिएको पत्रमार्फत जसपाले आँकलन गरेको छ । त्यस्ता चुनौतिहरुलाई सामना गर्न सही बाटो र सुदृढ संगठनको आवश्यकता भएको उल्लेख गर्दै पार्टी एकताको वैचारिक आधार पहिचानसहितको संघीयता र समाजवाद हुनुपर्ने भनेको छ ।
जसपाले श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोबिन्द चौधरी सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।
यसैगरी काराकारमा बन्दी जीवन बिताई रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले समेत संघीय मञ्चलाई कार्यगत एकता अथवा पार्टी एकीकरणको प्रस्ताव राख्दै शुक्रबार औपाचारिक पत्र पठाएकी छन् ।
विचार र मुद्दा मिल्ने पार्टीहरुसँग कार्यगत एकता वा पार्टी एकिकरण गर्न इच्छा वा अवधारणा भए यथासिघ्र वार्तागर्न अनुरोध गर्दै पत्र पठाएको मञ्चका महासचिव अशोक चेम्जोङ्ले बताए ।
जसपा र उन्मुक्तिको प्रस्ताव बारे प्रतिक्रिया दिँदै संलोरामका महासचिव चेम्जोङले पहिचान पक्षधर शक्तिहरुबीच ध्रुवीकरण र एकता आवश्यक रहेको बताएका छन् । उनले पार्टीभित्र विचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरुबीच वृहत् एकता गर्नुपर्ने मत बढेर गएको जिकीर गरेका छन् ।
जसपाको पत्र नै आफ्नो फेसबुकमा सेयर गर्दै चेम्जोङले लेखेका छन्– ‘हुन त जसपाबाट बारबार एकता प्रस्ताव आएकै हो । अध्यक्ष र म स्वयम् निर्वाचन अघि पनि राष्ट्रिय राजनीति र लिम्बूवान आन्दोलन कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषय र एकता बारे जसपा शीर्ष नेताहरुसँग छलफल गर्यौं तर हाम्रो पक्षबाटै छलफल अघि बढ्न सकेन ।’
यसअघि पनि संलोरामलाई राष्ट्रिय जनमुक्ति पार्टीले एकताको निम्ति औपचारिक पत्राचार गरेको थियो ।