कमल । कमल गाउँपालिकामा बसोबास गर्ने आदिवासी जनजातिका लागि लक्षित ४५ दिनको एडभान्स इलेक्ट्रिसियन तालिम आजबाट सुरु भएको छ ।
तालिममा आदिवासी जनजातिका संस्थाहरुबाट छनौट गरेर पठाइएका ३५ जना प्रशिक्षार्थी सहभागी छन् । गाउँपालिकाको बजेटबाट सञ्चालन गरिएको तालिमबाट विद्युतीय उपकरणहरु जडान, घर वायरिङ, मर्मत आदि काममा दक्ष बनाउने अपेक्षा राखिएको छ ।
तालिमको उद्घाटन गर्दै कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले तालिममा ध्यान दिएर सीप सिक्न सहभागीलाई आग्रह गरिन् ।
‘यो तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्ने तपाइँहरु सक्षम र समृद्ध बन्नु हुनेछ’ उपाध्यक्ष न्यौपानेले भनिन्, ‘गाउँपालिकामा बसोबास रहेका कोही पनि नागरिक बेरोजगार नहुन् भनेर पालिकाले बजेट विनियोजन गरी तालिमको आयोजना गरेकोले तालिम अवधिभर ध्यान दिएर सिक्नु होस् र स्वरोजगार बन्नुहोस् ।’
उद्घाटन समारोहका अर्का वक्ता गाउँपालिकाको शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले सहभागीहरुलाई भने, ‘तालिम प्राप्त गरेपछि तपाइँहरुले जागिरको लागि कतै भौंतारिनु पर्दैन, स्वरोजगार बन्न सक्नु हुनेछ । त्यसैले इमान्दारिता र लगशीलताका साथ तालिममा सक्रियतापूर्वक सीप सिक्नुहोस् ।’
आदिवासी जनजाति महासंघ कमल गाउँपालिका समितिका अध्यक्ष बद्रीराम राईको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन जयबहादुर तामाङले गरेका थिए ।