गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई बिहीबार जग्गाको अस्थायी निस्सा वितरण गरिएको छ ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीको अध्यक्षता र भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जग्गा नाप नक्साङ्कनका लागि जग्गाको निस्सा वितरण गरिएको हो ।
वडा नं. ६ का वडाध्यक्ष बद्रीनारायण यादवका अनुसार पहिलो चरणमा ३६ घरधुरी अव्यवस्थित बसोबासी, १०९ घरधुरी भूमिहीन सुकुम्बासी र ४१ घरधुरी भूमिहीन दलितको अस्थायी जग्गाको निस्सा वितरण गरिएको हो ।
वडा नं. १ मा २०२, वडा नं. २ मा १७६, वडा नं. ४ मा १८३, वडा नं. ५ मा १३५ र वडा नं. ६ मा १८६ जनाको कम्प्युटरमा प्रविष्ट भई पहिलो चरणमा निस्सा वितरण गरिएको छ ।
‘यो जग्गा प्राप्ति होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ कार्यक्रमका प्रमुख अतिथि तथा भूमि आयोग झापाका अध्यक्ष पाण्डेले भने, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’
कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने कामका लागि आफूहरु खटिएको बताइन् । सबैको साथ र सहयोगले भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोवासीहरूलाई जग्गाको निस्सा वितरण गर्न सम्भव भएको हो । अध्यक्ष राजवंशीले भनिन्, यो पहिलो चरणको काम मात्र हो । लाल धनीपूर्जा वितरण गर्न गाउँपालिका दिनरात लागि पर्नेछ ।’
कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा, वडा नं.१ का अध्यक्ष कार्तिकलाल राजवंशी, वडा नं.३ का अध्यक्ष श्रवण गिरी, वडा नं. ४ का अध्यक्ष फेका गिरी, वडा नं. ६ का अध्यक्ष बद्रीनारायण यादव, कार्यपालिका सदस्य अग्नुप्रसाद राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वडा नं. ३ का भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोवासीहरूको जग्गाको निस्सा दर्ता नगरेको प्रति अध्यक्ष श्रवण गिरीले आपत्ति जनाएका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य राधा अधिकारी, रिता तामाङ, रामकुमारी विक, वडा सचिव युवराज दाहाललगायतको सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका अधिकृत वीरेन्द्र खड्काले गरेका थिए । काेचिला न्यूज