बिर्तामोड । बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईले कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा आफ्नो शेयर नरहेको स्पष्ट पारेकी छन् ।
शुक्रबार एक कार्यक्रममा मेयर प्रसाईले सो कम्पनीमा स्वर्गीय पति ज्ञानुराम प्रसाईको नाममा रहेको १ लाखको शेयर गत चैत महिनामा फिर्ता लिएको बताएकी छन् ।
‘बाहिर हल्ला फैलाए जस्तो यो निजी कम्पनी पनि होइन’, मेयर प्रसाईले भनिन्–‘उर्जा मन्त्रालयले ५ करोड ४६ लाख रुपैयाँ लगानी गरेको, ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत शेयर नागरिकलाई खुल्ला गरिएको छ । त्यो कम्पनीमा मेरो शेयर नभएको स्पष्ट पार्न चाहान्छु ।’
कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगरका अध्यक्ष सुवास भट्टराईले सो कम्पनीमा स्व.ज्ञानुराम प्रसाईको नाममा रहेको १ लाखको शेयर मेयर पवित्रा महतरा प्रसाईले गत चैत २७ गते फिर्ताका लागि निवेदन दिएकोमा सोही महिनाको चैत ३० गते फिर्ता गर्ने निर्णय भएको बताए ।
बिर्तामोड नगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि सो कम्पनीमा दुई करोड ५४ लाख लगानी गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा कनकाईका मेयर राजेन्द्रप्रसाद पोखरेलले सो कम्पनीमा कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाको साझेदारीमा लगानी गरिने बताए । त्यसमा शिवसताक्षी र मेचीनगर नगरपालिकाले पनि लगानी गर्ने प्रस्ताव गरेको उनको भनाई छ ।
उनले ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत शेयर नागरिकलाई खुल्ला गरे अन्तरगत पन्ध्र सय नागरिकले शेयर खरिद गरिसकेको बताए । सो योजना आगामी पुस महिनादेखि सञ्चालन आउने मेयर पोखरेलको दावी छ ।