बिर्तामोड । नेपाली कांग्रेस झापाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षी उम्मेद्वारको नाम सोमबार प्रदेश नं. १ र केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
गत भदौ १८ गतेको निर्णयानुसार नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्र र क्षेत्रीय समितिबाट सिफारिस भएर आएका प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक एवं प्रदेशसभा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारहरुको नामावली उपल्लो तहमा सोमबार सिफारिस गरिएको पार्टी सभापति देउकुमार थेवेले जानकारी दिए ।
जसअन्तर्गत प्रतिनिधिसभा प्रत्यक्षतर्फ झापाका पाँचवटा क्षेत्रबाट १४ जनाको नाम सिफारिस भएको छ । जसमा झापा क्षेत्र नं. १ मा विश्वप्रकाश शर्मा, क्षेत्र नं. ३ मा कृष्णप्रसाद सिटौला र क्षेत्र नं. ४ मा देउकुमार थेवेको एकल नाम सिफारिस भएको छ ।
निर्वाचन क्षेत्र नं २ बाट केशवकुमार बुढाथोकी, सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी, जलकुमार गुरुङ्, छत्रबहादुर गिरी, नवीनराज प्रसाईको नाम सिफारिस गरिएको छ । पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईले दिएको जानकारी अनुसार क्षेत्र नं.५ बाट महेन्द्राकुमारी सुब्बा, डा। खगेन्द्रपाण्डव अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडेल र मेदनीप्रसाद सिटौलाको नाम सिफारिस गरिएको छ ।
झापाको क्षेत्र नं. १, ३ र ४ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्षका लागि एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं. २ मा सबैभन्दा बढी ६ जना र क्षेत्र नं. ५ मा ५ जनाको नाम सिफारिस भएको हुमागाईले जनाए ।