बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले संस्थाको २६औं वार्षिक साधारण सभाको अन्तिम निर्णय पुस्तिका प्रमाणित भेला आज ९ गते शनिवार सम्पन्न गर्ने जनाएको छ ।
संस्थाको मुख्य कार्यालय चारपानेमा हिजो शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वितरित प्रेस बिज्ञप्तिमा सहारा नेपाल पूँजी तथा सदस्य संरक्षण, समुदायप्रतिको चासोलगायतका हिसाबले यस वर्ष मुलुकभरिकै पहिलो र उत्कृष्ट संस्था रहेको दावी गरिएको बताइएको छ ।
संस्थाले आफ्नो वित्तिय अवस्थालाई अझ मजबुत् बनाउने सोच अनुरुप मिसन - ०८८ सम्मको रणनीतिक योजना निर्माण गर्दै एक खर्बको वासलात बनाउने लक्ष्य तय गरेको संस्थाका कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताए ।
वार्षिक साधारण सभा सम्पन्न गर्नुअघि संस्थाले ९६ स्थानमा एकाई साधारण सभा भेला सम्पन्न गरिसकेको बताइएको छ । विश्व बजारमा परेको आर्थिक मन्दी र नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा तरलता अभाव भैरहेको जटिल परिस्थितिमा पनि संस्थाले सहज ॠण लगानी र सदस्यहरुको बचतको पूर्ण सुरक्षा प्रदान गर्दै आइरहेको छ ।
संस्थाले ७९ वटा सेवाकेन्द्र मार्फत् १ लाख ५९ हजार ७ सय ७८ शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । आर्थिक वर्ष ०७८/७९ सम्म आइपुग्दा शेयर पूँजी १ अर्ब ६३ करोड १६ लाख, जगेडा कोष १ अर्ब ११ करोड ११ लाख, अन्य कोष ४४ करोड ७१ लाख, बचत ९ अर्ब २५ करोड ३६ लाख, लगानीमा रहेको ॠण १३ अर्ब, भौतिक सम्पत्ति ४१ करोड १६ लाख र बाह्य ॠण १ अर्ब ७२ करोड रहेको जनाइएको छ ।
यस्तै ०७९ असार मसान्तसम्मको संस्थाको वासलात १५ अर्ब ३८ करोड पुगेको पत्रकार भेटघाटमा बताइएको छ । वर्तमानको जटिल परिस्थितिमा पनि सहारा साकोसले यस वर्ष ४९ करोड ७७ लाख नाफा आर्जन गरेको छ । यसबाट सदस्यलाई लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट ३० करोड १५ लाख वितरण गरिने जनाइएको छ ।
सहकारी संस्था हुँदै गर्दा सहराले सुविधाको निम्ति एटिएम, ट्याब्लेट, मोबाइल एप्स् सेवा, क्युआर कोड र एसएमएस बैंकिङ सेवामार्फत् आफ्ना सदस्यलाई सहज सुविधा दिइरहेको छ ।
बिग मर्जको अवधारणालाई अघि सारेर मर्जर प्रकृयामा अघि बढेको सहाराले संस्थालाई अझै बलियो र विश्वनिय बनाउन साना-ठूला सहकारीहरुसँगकी एकीकरण प्रकृयालाई निरन्तरता दिने बताएको छ । आगामी आर्थिक वर्षसम्म ८९ वटा सेवा केन्द्र, १ लाख ७५ हजार शेयर सदस्य र १७ अर्बको वासलात बनाउँदै ६२ करोड नाफा आर्जन गर्ने प्रक्षेपण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गिरीले बताए ।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा सम्पन्न वार्षिक प्रगति प्रतिवेदन - २०७९ सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा सहारा शिक्षा सदनका नानीहरुको हातबाट प्रतिवेदन सार्वजनिक गरिएको थियो । संस्थाका उप- निर्देशक दिनेशबहादुर निरौलाले सञ्चालन गरेको कार्यक्रममा महिला उपाध्यक्ष पवित्रा सुब्बा, लेखा सुपरिवेक्षण समिति संयोजक उपेन्द्रप्रसाद ओलीलगायले बोलेका थिए ।
कार्यक्रममा संस्थाका पहिलो सदस्यसमेत रहेका संस्थापक सदस्य एवम् प्रथम उपाध्यक्ष छबिलाल खतिवडा, कोषाध्यक्ष डम्बरबहादुर देउजा, सदस्यहरु शंकरप्रसाद रिजाल, भीमबहादुर खबास, पार्वता भारती गिरी, नर्वदा संग्रौलालगायतको उपस्थिति रहेको थियो ।