बिर्तामोड । मंसिर १८ देखि सुरु भएको देशकै अग्रणी सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को साधारण सभा शनिबार (पुस २) मा अन्तिम माइन्युट प्रमाणित गर्दै सम्पन्न भएकोछ ।
सहकारी ऐनबमोजिम मंसिर १८ गतेदेखि २८ गतेसम्म ६ वटा एकाइका ५४ वटा उपएकाइमा साधारण सम्पन्न गर्दै आएको एनएमसीले शनिबार बिर्तामोडमा एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधिको उपस्थितिमा अन्तिम माइन्युट प्रमाणित सभा सम्पन्न गरेको हो ।
प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तिम माइन्युट प्रमाणित सभामा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का, प्रदेश १ कृषि मन्त्रालयका प्रवक्ता पशुपति पोखरेल, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण सिवाकोटी लगायतले एनएमसीले गरेको प्रगतिको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
कार्यक्रममा संस्थामा कार्यरत कर्मचारीहरुमध्ये विधागत आधारमा आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । आ.व. २०७६/०७७ अन्तर्गत उत्कृष्ट कार्यालय प्रमुख रविन भट्टराई, उत्कृष्ट कर्मचारी विशाल ढुंगाना र उत्कृष्ट बजार प्रतिनिधि खेमकुमारी बास्तोला त्यसैगरी आ.व. २०७७।०७८ अन्तर्गत उत्कृष्ट कार्यालय प्रमुख भोलानाथ सुवेदी, उत्कृष्ट कर्मचारी हेमन्त निरौला र उत्कृष्ट बजार प्रतिनिधि रघुनाथ बराललाई प्रमुख अतिथि, अतिथि लगायतले दोसल्ला र प्रशंसा पत्रले सम्मान गरेका थिए ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । एकाइगत साधारण सभाबाट प्राप्त सुझावलाई उपाध्यक्ष भगवती घिमिरेले प्रस्तुत गरेको कार्यक्रममा उपस्थित सबैलाई वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले शाब्दिक स्वागत गरेका थिए ।