झापाका ५ निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि १४ जनाको नाम सिफारिस गरेको छ ।
उम्मेदवार सिफारिस भएका १४ मध्ये २ जना मात्रै महिला छन् । यसअघि मन्त्री भइसकेका ३ जनाको नाम पनि सिफारिस गरिएको छ । विगतमा सांसद भइसकेका ६ जना व्यक्तिको नाम उम्मेदवार सिफारिस सूचीमा अटाइएको छ ।
उम्मेदवार सिफारिस भएका ३ जना पार्टीको आन्तरिकबाहेक अन्य चुनाव नलडेका व्यक्ति हुन् । झापाका ३ निर्वाचन क्षेत्रबाट कांग्रेसले एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । झापा २ बाट सबैभन्दा बढी ६ जनाको नाम सिफारिस भएको छ ।
झापा ५ बाट ५ जनाको नाम सिफारिस गरिएको छ । हरेक क्षेत्रबाट ३–३ जनाको नाम सिफारिस गर्न केन्द्रले परिपत्र गरे पनि झापा २ र ५ बाट बढी नाम सिफारिस भएको हो ।
झापा १ बाट पार्टी महामन्त्री विश्वप्रकाश शर्मा, ३ बाट नेता कृष्णप्रसाद सिटौला र ४ बाट कांग्रेस झापा सभापति देउकुमार थेवेको एकल नाम सिफारिस भएको छ । पार्टी क्षेत्रीय समितिले सिफारिस गरेका नाम जिल्ला समितिले सोमबारसम्ममा केन्द्रमा पठाइसक्नुपर्ने समय तोकिएको छ ।
झापा २ बाट सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सुधीरकुमार सिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी र नवीन प्रसाईंको नाम सिफारिस भएको छ ।
झापा ५ बाट महिन्द्रकुमारी लिम्बू, विश्वदीप लिङ्देन, खगेन्द्र पाण्डव अधिकारी, पदम पौडेल र मेदनीप्रसाद सिटौलाको नाम सिफारिस भएको छ ।
झापा १ बाट नाम सिफारिस भएका शर्मा नेपाली राजनीतिमा आशा र भरोसा गरिएका व्यक्ति हुन् । शालीन, भद्र स्वभावका शर्मा कांग्रेसभित्र मात्रै होइन, नेपाली राजनीतिमा तार्किक र क्षमतावान् युवा राजनीतिकर्मीको छवि बनाएका व्यक्ति हुन् ।
संसदीय निर्वाचनमा सफल नभए पनि उनी कांग्रेसको राजनीतिमा स्थापित छन् । नेविसंघमा सफल अध्यक्षको छवि बनाएका शर्माले कांग्रेस प्रवक्ताको जिम्मेवारीमा रहँदा पार्टीलाई उचाइमा पुर्याउन र प्रशंसा कमाउन सफल भएका थिए ।
१३ औँ महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्य निर्वाचित भएका शर्मा प्रवक्ता र विगतको सफल कामले महामन्त्री निर्वाचित भएको देखिन्छ । शर्मा आफ्नो निर्वाचन क्षेत्रमा २ पटक चुनाव लडिसकेका छन् । तर, उनले दुवै पटक हार बेहोरेका छन् । ०७४ मा उनी माओवादीका राम कार्कीसँग पराजित भएका थिए ।
झापा ३ बाट नाम सिफारिस भएका सिटौला पार्टीको महामन्त्री र गृहमन्त्री भइसकेका व्यक्ति हुन् । तथापि, चुनावी प्रतिस्पर्धामा भने उनी पनि खास सफल मानिँदैनन् । उनी नेपाली राजनीतिमा चतुर खेलाडी मानिन्छन् । ०७४ को निर्वाचनमा उनी वर्तमान राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।
झापा ४ बाट नाम सिफारिस भएका थेवे सोही क्षेत्रबाट ०७४ को चुनाव लडेका थिए । थेवे हक्की स्वभावका नेता हुन् । उनी पनि एमाले उम्मेदवार एलपी साँवासँग पराजित भएका थिए ।
कम्युनिस्ट किल्ला मानिने झापामा एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लड्दा ०७४ को चुनावमा झापामा कांग्रेसले सफलता हात पार्न सकेको थिएन । यसपटक अवस्था ०७४ को ठिक विपरीत भएकाले झापामा कांग्रेसले सफलता हात पर्ने देखिन्छ ।
किनकि, अहिले माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चा र कांग्रेसका बीच गठबन्धन छ । त्यसले मंसिर ४ को चुनावमा परिणाम सुखद ल्याउने कांग्रेस नेता–कार्यकर्ताको विश्लेषण छ । यद्यपि, झापामा कांग्रेसलाई सजिलो भने पटक्कै छैन ।
झापा २ बाट सिफारिस भएकी सरिता प्रसाईं पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी विद्यार्थी राजनीतिबाट स्थापित भएकी हुन् । महामन्त्री शर्मा र प्रसाईं समकालीन नेता हुन् । उनले विगतमा कृषि राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् ।
केशवकुमार बुढाथोकी पूर्वसामान्य प्रशासन मन्त्री हुन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेका उनले दोस्रो संविधानसभा चुनावमा झापा ४ बाट एमाले उम्मेदवार साँवालाई हराएका थिए । बुढाथोकी ०७४ मा चुनाव लाडेनन् । हक्की स्वभावका बुढाथोकी झापामा ‘सेतो बाघ’ को छविले चिनिन्छन् ।
त्यसैगरी शिवाकोटी दोस्रो संविधानसभा निर्वाचनमा झापा २ बाट विजयी भएका थिए । उनले झापा कांग्रेसको २ पटक सभापति र पार्टीको वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । उनी कांग्रेसभित्र शालीन नेताका रूपमा चिनिन्छन् ।
गुरुङ बिर्तामोड खानेपानी र नेपालको चर्चित मेची आँखा अस्पतालका अध्यक्ष हुन् । गुरुङ संघसंस्थाको नेतृत्वमा सफल व्यक्ति मानिन्छन् । झापा ११ फुटबल क्लबको सफल नेतृत्व गरिसकेका उनले अघिल्लो स्थानीय तह निर्वाचनमा बिर्तामोड नगरपालिकाको प्रमुखमा पराजय भोगेका थिए ।
चुनाव प्रतिस्पर्धा नगरेका गिरी कांग्रेसको उद्योग तथा लगानी प्रबर्द्धन बोर्डको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनी नेपालकै ठूलोमध्येको एक गिरीबन्धु टि–स्टेटका सञ्चालक हुन् ।
संघीय सांसदको उम्मेदवारमा नाम सिफारिस भएका नवीन प्रसाईं पार्टीमा खास चर्चामा नआएका व्यक्ति हुन् । तर, उनले नेपाल विद्यार्थी संघ झापा सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।
झापा ५ बाट सिफारिस भएकी लिम्बू कांग्रेसको बहालवाला केन्द्रीय सदस्य हुन् । सांसदसमेत रहेकी उनी झापामा सफल महिला नेतृ मानिन्छिन् । जुझारु स्वभावकी उनी जनजाति समुदायबाट कांग्रेसमा स्थापित नेता हुन् ।
विश्वदीप लिङ्देन कुनैबेला देशभर चर्चा कमाएका नेता हुन् । तत्कालीन माओवादीबाट चुनाव लडेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ०६४ को संविधानसभा निर्वाचनमा पराजित गरेर आफूलाई अब्बल सावित गरेका थिए । अघिल्लो स्थानीय तह निर्वाचनका बेला कांग्रेस प्रवेश गरेका लिङ्देन कांग्रेसमा पत्याएका नेताका रूपमा चिनिन्छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्यसमेत रहेका लिङ्देन १४ औँ महाधिवेशनमा झापा कांग्रेसको सचिवमा प्रतिस्पर्धा गरेका व्यक्ति हुन् ।
पाण्डव अधिकारी बौद्धिक व्यक्ति हुन् । स्थायी प्राध्यापन पेसा छाडेर ०७४ को चुनावमा एमाले अध्यक्ष ओलीसँग चुनाव लडेका उनी कांग्रेसभित्र सम्भावना भएका युवा मानिन्छन् । पिएचडी गरेका उनी स्थायी राजनीति गर्नकै लागि काठमाडौँ छोडेर झापा आएका हुन् । उनलाई झापा कांग्रेसभित्र सक्षम युवाका रूपमा लिइन्छ ।
पदम पौडेल तत्कालीन तोपगाछी गाविसका अध्यक्ष निर्वाचित अध्यक्ष हुन् । लामो समय एमालेमा छाएर कांग्रेस प्रवेश गरेका उनी प्रखर नेता मानिन्छन् । झापामा उनको आफ्नै विरासत छ ।
मेदनी सिटौला कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका व्यक्ति हुन् । जुझारु स्वभावका उनी पार्टीका युवा पंक्तिबीच स्थापित मानिन्छन् । महाधिवेशन प्रतिनिधि रहेका उनी लोकतन्त्र स्थापनामा आन्दोलन गरेका र पार्टीमा पुरानो लिगेसी भएका व्यक्ति हुन् ।