झापा । प्रतिनिधि सभा सदस्यका लागि झापा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका स्वागत नेपालले वास्तविक सांसद कस्तो हुनुपर्छ र हुनेछ भन्ने प्रमाणित गरेर देखाउने बताएका छन् ।
आफ्नो उम्मेदवारी र चुनाव प्रचारप्रसारका बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै नेपालले विकास निर्माणका काममा सांसदहरुको प्रत्यक्ष र भौतिक सहभागिता नदेखिएकोले वास्तविक सांसद कस्तो हुनुपर्छ भनेर आफूले देखाउने बताएका हुन् । उनले आफू संसदमा नभए पनि र सांसद नभए पनि विगतमा प्रतिपक्षी सांसदको भूमिका निर्वाह गरेको दावी गरे । आफूले राजनीतिको फोहोर सफा गर्ने कार्य गर्दै आएको उनले बताए ।
‘म जनप्रतिनिधि नभएर पनि एउटा सांसदले भन्दा धेरै प्रतिपक्षी सांसदहरु सरह काम गरेको छु, सरकारले ल्याएका गलत कानुनहरु खारेज गराउँदै जनताको पक्षमा नयाँ कानुन निर्माण गर्न संसद र सरकारका नाममा निर्देशनात्मक आदेशहरु पनि जारी गराउँदै आएको छु’ उनले भने, ‘त्यसै सिलसिलामा झण्डै १२ वर्षअघि पार्टीहरुले जनतालाई मन नपरेका उम्मेदवारलाई बहिस्कार गर्न पाउने अधिकार राइट टु रिजेक्टको कानुन बनाउन दिएको निर्देशनात्मक आदेश अझै पनि दल र सरकारहरुले अवज्ञा गरिरहेका छन् सो सम्बन्धी कानुन बनाएका छैनन् । त्यसैका कारण अझै पनि इमान्दार कार्यकर्ताहरुले ५ वर्षमा एक पटक आफ्नो मन परेको पार्टीको उम्मेदवारलाई मत हाल्न पाएका छैनन्, बहिस्कार गर्ने अधिकार पनि पाएका छैनन् ।’
यसैगरी आफूले नै चुनाव जितेर गएका ब्यक्तिहरुले चुनावका बेला गरेका बाचा पुरा नगरेमा जनताले दिएको भोट फिर्ता गरेर पदबाट हटाउने अधिकार अर्थात राइट टु रिकलको लागि लडिरहेकोमा सो सम्बन्धी कानून समेत अझै बन्न नसकेको उनले बताए । स्वतन्त्र उम्मेदवार नेपालले किसानले आफ्नो उत्पादनको मूल्य उत्पादन खर्च जति पनि पाउन नसकेको, किसानले घाटामा बेचेको अनाज मजदुरले अति चर्को मूल्यमा किन्नु परेको जस्ता विषय राजनीतिको विषय नै नबनेकोमा आश्चर्य व्यक्त गरे । नेपालमा विदेशी आमन्त्रित हस्तक्षेप बढ्दै गएको भन्दै उनले खासमा ब्यवस्था परिवर्तन नभई व्यवस्था सँधै असफल र व्यक्ति मात्र सफल देखिएको धारणा राखे ।
आफ्नो उम्मेदवारी कुनै पनि दल, दलका नेता र समूह विरुद्धमा नभई यहाँको भ्रष्टाचार, अन्याय, अविकास, वेथिती, राज्यकै अराजकता,अन्तर्राष्ट्रिय तत्व र वैदेशिक हस्तक्षेपको विरुद्ध भएको उनको भनाई छ । बिर्तामोड नगरपालिका वडा नं ७ नेपाल गाउँमा जन्मिएका नेपालले स्थानीय देउनियामा प्रारम्भिक शिक्षा हासिल गरेका थिए । वीरेन्द्र मावि चन्द्रगढीमा माध्यमिक शिक्षा र मेची बहुमुखी क्याम्पस हुँदै हाल उनी अध्ययन अध्यापन कार्यमा संलग्न छन् । हालसम्म पत्रकारिता, लेखन, अध्यापन र कानूनकर्ममार्फत देश र जनताका लागि काम गरिरहेको उनले बताए ।
स्वास्थ्य, शिक्षा, आवास निःशुल्क उपलब्ध गराउने असम्भवजस्तो लाग्ने सो व्यवस्थालाई सम्भव गराउने आफूसँग प्रस्ट दृष्टिकोण र कार्यक्रमहरु रहेको भन्दै उनले जसका लागि देशभर स्वतन्त्र उम्मेदवारहरु निर्वाचनमा होमिएको जानकारी दिए । झापा २ मा क्रस खुकुरी चुनाव चिन्ह लिएर आफूले घरदैलो कार्यक्रम गरिरहेको उनले बताए ।