झापा । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न निर्देशन जारी गरेको छ । दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पालना नगरेको पाइएको भन्दै आयोगले सात बुँदे निर्देशन जारी गरेको हो ।
निर्वाचन स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पन्न गर्न दल तथा उम्मेदवारले आचारसंहिता कार्यान्वयन गर्नु पर्नेमा आयोगले जोड दिएको छ ।
निर्देशनमा लाभको पदमा रहेका व्यक्तिहरुलाई निर्वाचन प्रचार प्रसार गर्दा सरकारी साधन स्रोत तथा जनशक्तिको प्रयोग नगर्न घरदैलोे कार्यक्रममा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी सहभागी नहुन भनिएको छ ।
त्यस्तै कात्तिक १७ गतेभन्दा अघि कुनै पनि जुलुस, आमसभा, कोणसभा जस्ता कार्यक्रम नर्गन निर्देशन दिएको छ।
त्यस्तै कार्तिक १७ गते अघि सञ्चारमाध्यमबाट कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पनि दल तथा उम्मेदवारलाई रोक लगाइएको छ ।
आयोगले निजी घरजग्गा, सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह नराख्न पनि ध्यानाकर्षण गराएको छ। आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कार्यहरु भए प्रचलित कानून बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने चेतावनी दिएको छ ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचार प्रसारका क्रममा व्यापक रुपमा आचारसंहिता उल्लङ्घन भए पछि आयोगले यस तर्फ चासो देखाएको हो । सेताेपत्र