बिराटनगर । बिर्तामोड निवासी प्रहरी निरीक्षक ढुण्डीराज गिरी उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी निरीक्षक गिरीलाई प्रहरी दिवसको अवसरमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले एक कार्यक्रमका बीच प्रशंसा-पत्रसहित सम्मान गरेका हुन् ।
प्रदेश १ मा उत्कृष्ट ब्यवस्थापन कार्य गरे वापत गिरी सम्मानित भएका हुन् । 'प्रहरी जनताको साथी' र 'मुस्काकानसहितको सेवा' भन्ने नेपाल प्रहरीको मूल मर्मलाई प्रहरी निरीक्षक गिरीले सधैं आत्मसात गरेर कार्य सम्पादन गरेको स्थानीय अगुवाहरु बताउँछन् ।
गिरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख भएर कार्य सम्पादन गर्दा झापाको ट्राफिक ब्यवस्थान, दुर्घटना न्यूनीकरण, ट्राफिक जनचेतना आदिजस्ता कार्यमा नागरिकसँग हातेमालो गरेर उत्कृष्ट सेवा गरेको स्मरण गर्छन् तत्कालिन् बिर्तामोड उद्याेग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई ।
त्यस्तै, बिर्तामोडमा मात्र नभएर झापा जिल्लामा विभिन्न समयमा रगतको अभाव हुँदा आफैं अग्रसर भएर रक्तदान कार्यमा सहयोग गरेर मानवीय सेवामा अतुलनीय योगदान गर्ने प्रहरी अधिकृतको रुपमा गिरीलाई सम्झन्छन् रेडक्रस उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी ।
यसरी नै बिर्तामोडमा क्रियाशील सबै सामाजिक सङ्घ-संस्थालाई सरिक गराएर हप्ताको एक दिन प्रत्येक शनिबार बिहान बिर्तामोड बजार सरसफाई गर्ने अवधारणा ल्याएर सङ्घ-संस्था र तिनका नेतृत्वलाई सजग गराउन पहल गर्ने पहिलो प्रहरी अधिकृतसमेत हुन् गिरी भन्ने स्मरण गर्छन् गोर्खा टेलरिङका सञ्चालक वीरु दर्नाल ।
र, गिरीको सरुवापछि बिर्तामोडमा सफाई अभियान पनि त्यत्तिकै सेलाएर गएकोमा स्थानीयहरुको गुनासो छ । यति मात्र नभएर बिर्तामोडको गहनाको रुपमा रहेको ऐतिहासिक अदुवा खोला सफाईमा प्रहरी र नागरिकको साझेदारीमा अदुवा खोला सफाई अभियानको नेतृत्वकर्ता समेत गिरी नै भएको स्मरण गर्छन् सफाई अभियन्ता विष्णु आचार्य ।
सम्मानित गिरी जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी प्रमुख, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख हुँदै हाल एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरमा कार्यरत छन् ।