झापा । मुलुककै सबैभन्दा ठूलो, अत्याधुनिक र सुविधायुक्त निर्माणाधीन विराट भरत विश्रान्ती मानव सेवा केन्द्र बिर्तामोडको नयाँ नेतृत्व चयन गर्दै चौथो अधिवेशन सम्पन्न भएको छ।
जीवनको उत्तरार्द्वमा जेष्ठ नागरिकलाई एक्लोपन हटाएर पूर्ण जीवनको अनुभूति दिलाउने ध्येयका साथ निर्माण सुरु गरिएको सेवा केन्द्रको नेतृत्व डिल्लीप्रसाद प्रसाईंले सम्हालेका छन् ।
२ वर्षे कार्यकाल रहने समितिको उपाध्यक्षको जिम्मेवारी कुलप्रसाद सङ्ग्रौलाले पाएका छन् । गोपीकृष्ण प्रसाईं महासचिव, कञ्चना ढकाल सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष क्रमशः शैलेन्द्र सिटौला र मनिष साहेवाला छन् । गोपीकृष्ण र कञ्चनाले पुरानै जिम्मेवारी दोहोर्याएका हुन् ।
बिर्तामोड - ४ का निवर्तमान वडाध्यक्ष सङ्ग्रौलाले उपाध्यक्षमा आउँदा हर्कलाल गिरीले डिल्लीप्रसादलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
सेवा केन्द्रको नयाँ नेतृत्वमा मेघराज बाँस्तोला, कल्पना कडरिया, मिजास पोखरेल, मीरा खड्का र देवी निरौलाले सदस्यको जिम्मेवारी पाएका छन् । कडरिया यसअघि पनि समितिको जिम्मेवारीमा थिइन् । सो सेवा केन्द्र निर्माणका लागि समाजवादी चिन्तक सीके प्रसाईं (भरतबाबु) को परिवारले २ बिघा १५ धुर जग्गा नि:शुल्क उपलब्ध गराएको छ। जग्गा उपलब्ध भएपछि आधा दशक अघिदेखि सेवा केन्द्र निर्माण प्रारम्भ भएको हो।
५ औँ साधारणसभाले संस्थाको भावी बजेट, कार्यक्रम र योजना पारित गरेको छ। योग केन्द्र, पार्क, टावर, आवास लगायत संरचना बन्दै गरेको सो क्षेत्रमा सशुल्क र नि:शुल्क सेवा उपलब्ध गराउने लक्ष्य अभियानकर्ताको छ। स्वेच्छिक दानबाट निर्माण भइरहेको सेवा केन्द्र निर्माणमा करोडौं खर्च भइसकेको छ।
संरक्षक राजेश खड्काले निर्माणाधीन सेवा केन्द्रलाई वृद्धाश्रमका रूपमा नबुझिदिन आग्रह गरे । उनले भने,"बुढेसकालमा मानिस थन्क्याउने ठाउँ यो होइन, स्वेच्छिक रूपमा सेवा उपभोग गर्न सक्ने सेवा केन्द्र हो ।" उनले नेपाली समाजको संरचना र बन्दै गएको नयाँ परिवेशको विश्लेषण गरेर आफूहरू सेवा केन्द्रमा जुटेको बताए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा, बिर्तामाेड खानेपानीका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड रोटरीका अध्यक्ष ओमकृष्ण विमली, बिर्तामोड लायन्सका (महिला) अध्यक्ष नम्रता ढकाल, मेची क्याम्पसका पूर्वक्याम्पस प्रमुख उमानाथ ओली, संस्थाका उपाध्यक्ष मोहन पाहिम लगायत संस्थाका बारेमा आ-आफ्नो मत राखेका थिए । उनीहरूले मानवीय सेवामा अभियानकर्ताको उत्तम कर्म भन्दै प्रशंसा गरेका थिए । सेवा केन्द्र निर्माणमा आफूहरू पनि सहयोग गर्न नहिच्किचाउने प्रतिबद्धता समेत उनीहरूले व्यक्त गरे ।