सनस्क्रिन भनेको घामबाट बच्नको लागि प्रयोग गरिने क्रिम हो । घाममा विभिन्न हानिकारक विकरणहरु हुन्छन् । जस्तै ‘अल्ट्राभोइलेट ए’ (युभिए), युभिबि आदि । युभिएले छालालाई कालो बनाउन सक्छ । जस्तै चर्को घाममा स्वीमिङ गर्दा छाला डढ्न सक्छ । यी विकीरणहरुले फोटो एजिङ गराउँछन् जसले अनुहारमा चाउरीपना आउने, कालो दाग बस्ने, छालालाई आफ्नो उमेरभन्दा वृद्ध उमेरको देखाउँछ ।
यी विकरणले छालाको क्यान्सर गराउने, एलर्जी हुने, बिबिरा, डाबर निकाल्ने, कालोपोतो निकाल्ने, सानो–सानो तिलकोठीहरु पनि बढाउन सक्छन् । यी सबैबाट बच्न सनस्क्रिनको आवश्यकता पर्दछ । घाममा हिँड्दामात्र सनस्क्रिनको प्रयोग गर्नुपर्छ भन्ने छैन । बादल लागेको बेला, पानी परेको बेला, बसभित्र यात्रा गर्दा, घरमै रहँदा पनि सनस्क्रिन लगाउनुपर्छ । घरभित्रबाट बस्दा पनि झ्यालबाट विकीरणहरु आउन सक्छन् । सनस्क्रिनको प्रयोग आफ्नो छालाको प्रकारअनुसार प्रयोग गर्नु उचित हुन्छ । यो मुख्यतः ३ खालको हुन्छः क्रिम, जेल र लोसनमा । चिल्लो छालाका लागि जेलबेस्ड उपयुक्त हुन्छ भने सुख्खा छालाका लागि हामीले क्रिम लगाउन सुझाउँछौं । त्यसैगरी जसको चिल्लो र सुख्खा दुवै छैन र मिस्क प्रकारको छाला छ भने उनीहरुलाई लोसनबेस्ड सनस्क्रिन उपयुक्त हुन्छ ।
कति र कसरी लगाउने?
सनस्क्रिनले लगाएकै कारणले पनि एलर्जी हुन सक्छन् त्यसैले आफ्नो छाला सुहाउँदो सनस्क्रिन लगाउन जरुरी छ । बजारमा विभिन्न किसिमका सनस्क्रिन पाइन्छन् ।सनस्क्रिन सबैभन्दा राम्रो मेडिकलबाट लिएको राम्रो । सनस्क्रिन रोज्दा एकदमै बास्नादार, रंगीचंगी प्याकेट भएको रोज्नुहुँदैन । औषधीय गुण भएको सनस्क्रिन रोज्नुपर्दछ ।
सनस्क्रिन लिँदा पनि कुन एसपिएफको लिने भन्नेमा पनि ध्यान दिनुपर्छ । एसपिएफ अर्थात ‘सन प्रोटेक्सन फ्याक्टर’ ।यो भनेको कति विकिरणहरु हाम्रो छालाबाट भित्र गएर असर गर्छ भन्ने मापन हो ।सनस्क्रिनले नराम्रो विकिरणलाई बचाउने काम गर्दछ । नेपाल तथा भारतमा प्राय गहुँगोरो छाला हुने भएकाले ३० एसपिएफको सनस्क्रिनले पुग्छ जसले लगभग ९७ प्रतिशत घामको विकिरणबाट बचाउँछ भनिन्छ । त्यसैगरी एकदम गोरो छाला, लुपस भएका र पोतोहरु आइराख्नेलाई ५० एसपिएफ उपयुक्त हुन्छ भनिन्छ । यसले ९८ प्रतिशत जति घामको विकिरणबाट बचाउँछ । अझ बजारमा त २०० एसपिएफसम्मका सनस्क्रिन पनि पाइन्छन् तर धेरै एसपिएफको सनस्क्रिन प्रयोग गर्दैमा घामको विकिरणबाट पुरै बचिने होइन। धेरै प्रयोग गर्ने भन्दा कसरी प्रयोग गर्नेमा यसको प्रभावकारिता देखिन्छ ।
सनस्क्रिन लगाउनुभन्दा पहिले आफ्नो छालमा एलर्जी हुन नदिन चेक गरेर मात्र लगाउनुपर्छ । हाम्रो कान पछाडी एकदम पातलो छाला हुन्छ त्यसमा थोरै लगाएर हेर्ने एलर्जी भएन भने त्यो छालालाई उपयुक्त हुन्छ । त्यसैगरी हत्केलाभन्दा माथिको भागको छालामा पनि परीक्षण गर्न सकिन्छ त्यसबाट पनि अन्दाज लगाउन सकिन्छ ।
सनस्क्रिन अनुहार र घाँटीमा ३ देखि ५ ग्राम अर्थात १ चिया चम्चा लगाए पुग्छ । साथै छाला एक्सपोज हुने भाग जस्तै हात तथा खुट्टामा पनि प्रयोग गर्ने । सनस्क्रिन दिनको एकपटक मात्र लगाएर पुग्दैन पटक पटक प्रयोग गर्नुपर्छ । सामान्यतया प्रत्येक २ घण्टामा सनस्क्रिन लगाउनुपर्छ नभए सनस्क्रिन दिनको ३ पटक लगाउन सल्लाह दिन्छौँ ९ बजे, १२ बजे र ३ बजे । यो समय सम्भव भएन भने दिनको दुईपटक प्रयोग गर्नुपर्छ ।
सनस्क्रिन ‘फिजिकल’ र ‘केमिकल’ गरी दुई प्रकारको हुन्छ । धेरैजसो केमिकल सनस्क्रिनको प्रयोग भइरहेको हुन्छ । यो सनस्क्रिन लगाएको १५ मिनेट देखि आधाघण्टापछि मात्र घाममा जाने, स्वीमिङ गर्ने, चर्को घाममा हिँड्ने गर्दा राम्रो हुन्छ । किनकी यो सनस्क्रिन छालामा सोसिन समय लाग्छ । खेलाडीहरुले भने ‘फिजिकल’ सनस्क्रिनको प्रयोग गर्छन् । यो सनस्क्रिन छालामा लगाउनेबित्तिकै काम गरिहाल्छ । एकदम घाममा गइराख्नुपर्ने, पर्वतारोही, गर्भवती तथा बच्चाकोलागि यो सनस्क्रिन उपयुक्त हुन्छ । गर्भावस्थामा केमिकल सनस्क्रिनको प्रयोग गर्नुहुँदैन । २ वर्ष माथिका बच्चाहरुले पनि सनस्क्रिनको प्रयोग गर्न सक्छन् भनिन्छ तर सानो उमेरमा यसको आवश्यकता खासै पर्दैन ।
अर्को अहिले ‘कम्प्याक्ट फर्म’मा पनि सनस्क्रिनहरु आउन थालेका छन् जुन कम्प्याक्ट फाउन्डेसन जस्तो हुन्छ जसले कालोपोतोहरु लुकाउन सक्छ । सनस्क्रिन लगाएपछि मेकअप लगाउन मिल्छ भन्ने प्रश्न पनि धेरैले सोध्ने गरेका छन् । लगाउन मिल्छ तर केही समय मात्र छालामा लगाउने र पखालिहाल्नुपर्छ ।
सनस्क्रिनको महत्व छ तर सबैले किन्न नसक्लान् र प्रयोग गर्न नसक्लान् । सकेसम्म छायाँमा रहेर काम गर्नुपर्छ । १० देखि ४ बजेको घाममा एकदमै विकिरण हुन्छ भनिन्छ । घामबाट बच्न ह्याट लगाउने, चस्मा लगाउने, कपडाले अनुहार तथा घाँटी छोप्न सकिन्छ। साथै छाता ओढेर हिँड्ने, मास्क र टोपी लगाएर हिँड्न सकिन्छ । नेपाल आज