झापा । चुनाव जित्ने अठोटसहित प्रतिनिधि सभा र प्रदेश सभामा मनोनयन दर्ता गराएका झापाका १५ जनाले बुधबार आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा ४ जना राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, १ जना नेकपा माओवादी केन्द्र र अरु स्वतन्त्र उम्मेदवार छन्।
प्रत्यक्षतर्फका १५ सिटका लागि अब झापामा १९२ जना चुनावी मैदानमा कायम छन् । उम्मेदवारी फिर्ता लिनेमा राप्रपा नेपालका प्रदेश १ सचिव बासुदेव भट्टराई, झापा अध्यक्ष कमल खरेल र नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया रहेको जनाइएको छ । टिकट वितरण प्रक्रियाप्रति चर्को असन्तुष्टि जनाउँदै झापा १ प्रदेश सभा २ मा चिमरियाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । सत्ता गठबन्धन दलको तर्फबाट सो प्रदेश नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । पार्टीकै श्यामवीर लिम्बुलाई उम्मेदवार बनाएपछि चिमरिया चिडिएका थिए। उनको उम्मेदवारी फिर्ता गराउन पार्टी केन्द्रीय सचिव राम कार्कीले पहल गरेका थिए । गठबन्धन दल, पार्टी र पार्टी सचिव कार्कीको आग्रहमा चिमरियाले निर्वाचन अधिकृतको कार्यालय आफैँ पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । सचिव कार्कीले पार्टी हित र निर्णय विपरीत काम नगर्न सचेत गराएका थिए।
उनीहरूसँगै उम्मेदवारी फिर्ता लिनेहरूमा प्रतिनिधि सभाका ७ र प्रदेश सभाका ८ जना उम्मेदवार रहेका छन् ।
झापा १ बाट राप्रपा नेपालका सन्तराज कार्की, झापा १ को प्रदेश २ बाट स्वतन्त्र उम्मेदवारी दिने गीताप्रसाद अधिकारी, झापा २ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने कमलप्रसाद खरेल, स्वतन्त्र उम्मेदवारी दिने अर्पण बस्नेत, क्षेत्र ४ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने विजयप्रसाद राजवंशीले उम्मेदवारी फिर्ता लिएको सम्बन्धित निर्वाचन कार्यालयले जनाएका छन् ।
त्यस्तै झापा ४ मा स्वतन्त्र उम्मेदवारी दिएका खेम नेपाल,४ को प्रदेश २ मा स्वतन्त्र उम्मेदवारी दिएका भरत श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । सबैभन्दा बढी झापा ५ मा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा तर्फ दुईजना तथा ५ को प्रदेश १ मा एकजना र २ मा ४ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा ५ मा प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने सुलोचना राजवंशी, विष्णुप्रसाद सिग्देल, प्रदेश १ मा स्वतन्त्र उम्मेदवारी दिने इन्द्रबहादुर न्यौपाने, प्रदेश २ मा स्वतन्त्र उम्मेदवारी दिने वेदनिधि गौतम, दिपेन्द्र तिवारी, राजन चापागाईं र राप्रपा नेपालका बासुदेव भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन् ।
झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधि सभामा १०१ र प्रदेश सभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा २५ को उपदफा ‐४ तथा प्रदेश सभा सदस्य २०७४ को दफा २५ को उपदफा‐४ बमोजिम उम्मेदवारी फिर्ता लिनेको नाम उम्मेदवारको सूचीबाट हटाइएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।